२ करोड २४ लाखको गहनासहित भण्डारी र अधिकारी

तु खबर संवाददाता
२०७८ भाद्र ३०,बुधबार १४:५०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् ।

काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

लहानमा युवती मृत फेला
जनकपुरधाम । सिरहाको लहानमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी मृत अवस्थामा फेला परेकी हुन् । चौधरी लहान नगरपालिका–३ प्रगति टोलस्थित डेरामा मृत फेला परेकी हुन् ।

कोठाको चुकुलभित्रबाट लगाएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिहानैदेखि रातिसम्म बाहिर ननिस्किएपछि घरधनीले खोजबिन गरेका थिए । त्यस क्रममा उनको ढोका तोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । घटना आत्महत्या वा हत्या के हो भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ । मृतक चौधरीको शवको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाको विषयमा थप जानकारी आउने जनाइएको छ ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज (बुधबार) एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐर रहेका छन् ।

पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले एम्बुलेन्स चालक भीमदत्त नगरपालिका–१६ का ४० वर्षीय गणेश विष्टलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।