‘प्रचण्ड छट्टु नेता हुन्, माधव नेपालले वडा सदस्य पनि जित्दैनन्’

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १५:४७
file-photo

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन अघि बढाउन नसक्ने बताएका छन् ।

नेता नेपाल र प्रचण्डकै कारण नेकपा विभाजन भएको बताउँदै उनले आक्रोश व्यक्त गरे । ‘प्रचण्ड छट्टु नेता हुन्, सबैलाई थाहा भएकै कुरा हो । यता माधव नेपाल त, कम्तिमा बुझ्ले छन् होला भन्ने लागेको थिएँ । तर, उनले पनि मति बिगारे । माधव नेपाललाई वडा सदस्य जित्न पनि गाह्रो छ ।’ उनले भने ।

मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको बरु फुटाउन मात्रै जानेको आरोप लगाए ।

‘माधव नेपालले फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ?’

ओलीले एमालेले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’

उनले वामपन्थीको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपालले नै भूमिका खेलेको भन्दै उनले २ महिना बित्दा समेत सरकार गठन गर्न नसकेबाटै हैसियत देखिएको बताए । उनले एमाले नेकपाकै निरन्तरता भएको भन्दै प्रचण्डले पनि आफ्नो गुटमात्रै लिएर गएको बताए ।

एकता पछि ओलीले स्वेच्छाचारिता प्रवृत्ति देखाएको, गैरसंवैधानिक कार्य गरेको र पार्टीमा आफुलाई समेत टिक्न नदिएको दुवै नेता नेपाल र प्रचण्डले तर्क गर्दै आइरहेका छन् । ओलीकै दम्भ र अहंकारले नेकपाको एकता भंग भएको उनीहरुले बताउँदै आएका छन् ।