बैंकिङ कसुर मुद्दामा ३० लाख जरीवाना भुक्तान गर्न बाँकी कार्की पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा ३० लाख जरीवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर १० घर भएका दिपक कार्कीलाई पक्राउ गरेको हो ।
३९ वर्षीय कार्कीलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीविरुद्ध नारायण कार्कीले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ फागुन १८ मा ३० लाख जरीवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
फैसलापछि फरार भएका पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जरीवाना भुक्तानको लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको जनाइएको छ ।
१३ वर्षीया बालिकालाई बेचेको आरोपमा पक्राउ
सुर्खेत । प्रहरीले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका वडा नम्वर ६ सुर्खेत बस्ने ५० वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् । पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ । प्रहरीले ती महिलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
