‘बागमतीमा २२ मन्त्रालय बनाउन पाइन्छ, हामीले जम्मा ८ वटा बनाएका छौँ’
मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले बागमती प्रदेशमा कोरोना संक्रमणको जोखिमका कारण मन्त्रालयको कार्यभार बढेकाले मन्त्रालय थप गर्नु परेको बताएका छन् ।
शुक्रबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले संविधानको व्यवस्था अनुसार एक मन्त्रालय थप गरिएको बताए ।
राजनीतिक भागबण्डा मिलाउन मन्त्रालय थप गरेको आरोप खेप्दै आएको बागमती सरकारले प्रदेशको मन्त्रिपरिषद् अन्य प्रदेशको तुलनामा बरु सानो आकारको भएको दावी गरेको छ ।
प्रदेशसभाका कुल सांसदको २० प्रतिशत संख्या नबढ्ने गरी प्रदेश सरकारले मन्त्री बनाउन पाउने व्यवस्था संविधानमा रहेकाले सो अनुसार प्रदेशमा २२ वटा मन्त्रालयसम्म निर्माण गर्न सकिने उनको दावी छ ।
‘सांसद संख्याको आधारमा हामीलाई संविधानले २२ वटासम्म मन्त्रालय बनाउन अधिकार दिएको छ । हामीले हालसालै एक मन्त्रालय थपेर ८ वटा बनाएका छौँ । ४ राज्यमन्त्री थपिनुभएको छ । प्रदेशको मन्त्रिमण्डल त अझै सानो भयो भन्नुस् न, कर्णाली प्रदेशमा हेर्नुस् त संविधान मिचेरै मन्त्रालय थपिएको छ ।’ उनले भने ।
उनले कर्णाली प्रदेशमा ७ वटा मन्त्रालय निर्माण गर्न सकिने भएपनि त्यहाँ ८ वटा गरिएको भएपनि आफुहरुले त्यसो नगरेको तर्क गरे ।
विगतको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजेट पनि बढेको र कार्यभार कम गर्न र कार्य प्रगति वृद्धि गर्नका लागि मन्त्रालय विभाजन गरी मन्त्रीहरु नियुक्त गर्नुपरेको उनको दावी छ ।
मुख्यमन्त्रीले २३ भदौमा ६ जना मन्त्री र ४ राज्यमन्त्री थप गरेकी थिइन् ।
उनले प्रदेशमा स्वास्थ्य मन्त्रालय थप गरेकी थिइन् । उनले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा अजय क्रान्ति शाक्य, आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, सामाजिक विकास मन्त्रीमा विजय सुवेदी, स्वास्थ्य मन्त्रीमा प्रदीपकुमार कटुवाल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा चन्द्र लामालाई जिम्मेवारी दिएकी हुन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा जुनेलीमाया श्रेष्ठ, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती वाटी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनालीलाई नियुक्त गरिएको थियो ।
मुख्यमन्त्री शाक्यले सरकार गठनको २१ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइन् ।
