सरकारद्वारा राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो ।
उक्त बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
यस्तै अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, बैठकले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि गरेको छ भने स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
