मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने बागमती सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १४:१४

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै, बैठकले प्रदेशको दोस्रो आवधिक योजना ०८१–०८२ देखि ०८५–०८६ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगको योजना स्वीकृत गरेको हो ।

यसैगरी, बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।