निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने एमालेको तयारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानूनी उपचार खोज्ने निर्णय गरेको एमाले आइतबार सर्वोच्च जाने भएको हो ।
सो पार्टीको गत बिहिबार बसेको केन्द्रीय समितिको बैठकले दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार नै अदालत जान तयारी रहेपनि केही तयारी नपुगेकोले आइतबार मात्रै सर्वोच्च जाने भएको हो ।
एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधि सभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।
आयोगले तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।
