लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र १०, बिहीबार ०९:४४

बारा । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर १३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र सोही ठाउँ बस्ने २५ वर्षीय बाबुराम वाईबा रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ५ स्थित विरगंज पथलैया सडकखण्डको रातो पुल नजिक सडकबाट १५ किलो लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

बुधबार पथलैयाबाट बीरगंज आउँदै गरेको ना. ४६ प. ५९३१ नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक पाख्रिन र सवार वाईबाले पिठ्युमा बोक्ने २ वटा झोलाभित्र राखी लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।