हेटौंडाबाट थापासहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषधसहित आज (मंगलबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० बस्ने ३२ वर्षीय दमन थापा र सोही नगरपालिका वडा नम्वर ७ बस्ने ३० वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उनीहरुलाई हेटौंडा–१० बसपार्कबाट खटिएको प्रहरी चेकिङ टोलिले पक्राउ गरेको हो ।
आज दिउँसो बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ३९४३ नम्वरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार दमन थापाको साथबाट फेनारागन एमपुल ९, डाईजोपाम एमपुल ९, नुरफिन एमपुल ९ गरी जम्मा जम्मा २७ एमपुल लागूऔषध बरामद भएपछि निजसँगै बसेका चौधरीलाई पनि पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।
