गैँडा तस्करीको आरोपमा मकवानपुरका नेपालीसहित पाँच जना पक्राउ
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । निकुञ्जले गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको मकवानपुरका एक जनासहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
निकुञ्जका अनुसार, पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेती रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार, चितवनकै भरतपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरुलाई नकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको टोलीलले पक्राउ गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) (क) तथा २६(१) बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दाबी गरिएको छ ।
यसै मुद्दामा १० जना फरार रहेको निकुञ्जले जनाएको छ ।
