एमाले स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार १५:१८
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले उक्त विधान संशोधन प्रस्ताव पारित गरेको हो । जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख गरिएको छ ।

‘अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको छ । यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुन्छ,’ एक नेताले भने ।

एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

एमालेले आठौं महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए ।