बकैयाको गाउँ–गाउँमा फैलियो कोरोना, एकको मृत्यु, संक्रमितको काठमाडौं, भरतपुर र हेटौंडामा उपचार हुँदै

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १६:४५
file-photo

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलंदा सर्वसाधारणको जीवन उच्च जोखिममा परेको छ ।

पछिल्लो २४ घण्टामा बकैया गाउँपालिकाको मुकाम हात्तिसुडे नजिकैको जलजलेमा एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

एक २३ बर्षीय महिलाको उपचारको क्रममा भरतपुरमा पुर्याएपछि हिजो अपरान्ह मृत्यु भएको हो ।

बकैया गाउँपालिका–७ हात्तिखोलाका एक १५ बर्षीय किशोरीको हेटौंडा र चितवनमा उपचार हुन नसकेपछि राजधानीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उल्लेखित दुई घटना बाहेक बकैयाको गाउँ गाउँमा कोरोना फैलिएको स्थानीयवासीको भनाई छ । बकैया गाउँपालिकामा कति मानिसमा कोरोना संक्रमण छ भने औपचारिक तथ्याङ्क छैन । केही बिरामीहरु भरतपुरमा उपचार गराइरहेका छन् भने केहीको हेटौंडा र केही काठमाडौंमा उपचार भइरहेकोले बिरामीहरु निकै बढेको अनुमान गर्न सकिन्छ ।

ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुने मुख्य लक्षणको रुपमा रहेको कोरोनाले सिकिस्त बनाएपछि पेटका भित्री अंगहरु सुन्निने, अत्याधिक बान्ता गरेका कारण पानीमा मात्राहरु कम भएर शरीरका भित्री अंगहरुमा समेत रोगहरु देखिने समस्याहरु आएको पाइएको छ ।

यद्यपी सो सम्बन्धमा जिल्ला जनस्वाथ्य कार्यालयले कुनै जानकारी नआएको जनाएको छ । हेटौडा अस्पतालका मेसु रामप्रसाद सापकोटाले जिल्लाभरी नै कोभिडका बिरामीहरु बढेको भएपनि बकैया गाउँपालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको विषयमा औपचारिक जानकारी नआएको बताए ।

उनले बिरामीहरुमा झाडा बान्ता हुने, टाउको दुख्ने, स्वास प्रश्वासमा समस्या हुने कोभिडकै लक्षण भएको बताउँदै मेडिकलको भर नपरी तत्काल अस्पतालमा पुगेर उपचार गराउन आह्वान गरेका छन् ।

पछिल्लो २४ घण्टामा बागमति प्रदेशमा कोरोना संक्रमित ह्वात्तै बढेको छ । मकवानपुरका एक जनासहित बागमति प्रदेशमा १४ जनाको हिजो मात्रै मृत्यु भएको छ ।

सरकारले वितरण गरेको खोप गाउँपालिकामा प्रभावकारी रुपमा वितरण हुने नसकेको तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना नहुँदा ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको छ ।