बागमती प्रदेश मन्त्रिपरिषद बैठक : दुई वटा अध्यादेशलाई स्वीकृती प्रदान

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार १९:००
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आज अपराह्न बसेको बैठकले दुई वटा अध्यादेशलाई स्वीकृती प्रदान गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य संचालन) चौथो संशोधन २०७८ को अध्यादेशलाई स्वीकृती प्रदान गरेको हो ।

उक्त बैठकले काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका र चीनको एस.यु.बी.इ.आई प्रान्तस्थित एच.यु.ए.एन.बी.जी.ए.एन.जी सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

यसैगरी उक्त बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तरगत चालु आर्थिक वर्ष २०७८/०७९ भित्र २८३ जना अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापन गर्न स्वीकृत प्रदान गरेको छ ।