माधव पक्षलाई अब पार्टीमा कुनै ठाउँ छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई अब पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।’
उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी समेत गरे । पार्टीमा खुट्टा तान्ने तत्वहरु अव पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क थियो ।
उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि–पछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।’ अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरूलाई योगदान गर्न पनि आग्रह गरे ।
