चार घण्टादेखि माधव समूहको बैठक जारी, होला त एमाले एकता ?

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १६:००
file-photo

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको बैठक विहान ११ बजेदेखि यो समाचार तयार पार्दासम्म जारी छ ।

नयाँ बानेश्वरको एक होटलमा बसेको बैठकमा एमाले विवादको विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ गरेका छन् । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले धारणा राख्ने कार्यक्रम रहेको छ ।

एमाले एकता कायम राख्ने सन्दर्भमा छलफल जारी रहेको बुझिएको छ । माधव पक्षीय कार्यदलका सदस्यहरुले नेता नेपाललाई पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गर्दै आएका छन् ।

पार्टी एकताको लागि गठित कार्यदलको १० बुँदे प्रस्तावपछि पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच टकराव भने कायमै छ ।

अध्यक्ष ओलीले माधव नेपाललाई आफ्नो दलको नेतृत्वको सरकार ढालेर विपक्षी दलको प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको प्रतिक्रिया दिएका थिए ।

नेता नेपालले पनि अब पार्टीभित्र अपमानित भएर नबस्ने बताउँदै आएका छन् ।

आजको बैठकपछि माधव पक्षको स्पष्ट धारणा आउने बुझिएको छ ।