बागमती प्रदेशको नेतृत्वमा इन्द्र बानियाँको संभावना कति ?

तु खबर संवाददाता
२०७८ श्रावण ४,सोमबार १९:२३

मकवानपुर । केन्द्रीय तहमा फेरिएको राजनीतिक समिकरण र नेकपा एमालेभित्रको अन्तरविरोधका कारण बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संकटमा परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै मुख्यमन्त्री पौडेल नेतृत्वको बागमती सरकारको आयु पनि धरापमा परेको हो ।

एमालेकै सांसदहरुले देउवालाई विश्वासको मत दिएपछि पार्टी अध्यक्ष केपी ओली र माधव नेपालबीच दुरी झनै बढेको छ ।

केही दिन अघि एमाले एकता जोगाउन दुबै पक्षबीच एक किसिमको सहमति भएको प्रदेशसभाका सांसद राजेन्द्र पाण्डे बताउँछन् । जुन सहमति अनुसार अघि बढ्दा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद संकटमा पर्ने देखिएको छ ।

एमाले एकता कायम रहेमा पनि बागमती प्रदेश माधव पक्षले पाउने सांसद् पाण्डे दावी गर्छन् ।

‘नेकपा एमालेसंग स्पष्ट बहुमत छ । पार्टी एकताको लागि विभिन्न सहमति भएका छन् । सोही अनुसार हामीले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गर्ने क्रममा सरकारलाई समर्थन गरेका थियौँ । अब मुख्यमन्त्रीज्यूले योगदान गर्नुपर्ने बेला भएको छ । एमालेकै सरकार रहन्छ तर उहाँ मुख्यमन्त्री पदमा रहनुहुन्न ।’ उनले भने ।

नेकपा एमाले (ओली पक्ष) बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले पनि पार्टी एकता जोगाउने विषयमा छलफल भएको र मुख्यमन्त्री पौडेलले योगदान गर्नुपर्ने अवस्था आउनसक्ने प्रतिक्रिया दिएका छन् ।

बागमतीमा माधव पक्षलाई नेतृत्व नसुम्पिए एकता धरापमा पर्ने एमाले नेताहरु बताउँछन् ।

यदी एमाले एकता कायम नरहेमा अर्थात माधव पक्ष सरकारमा गएमा मुख्यमन्त्री पौडेल झनै संकटमा पर्ने देखिन्छ ।

कांग्रेसले यसअघि गण्डकी प्रदेशमा कृष्णचन्द नेपालीको नेतृत्वमा सरकार विस्तार गरिसकेको छ । स्रोतका अनुसार बागमती प्रदेशमा पनि कांग्रेसले माओवादी, जसपा र अन्य दलसंग सहकार्य गर्दै सरकार विस्तार गर्ने कसरत गरिरहेको छ ।

कांग्रेसले सरकारको नेतृत्व पाउँदा आफुहरु जिम्मेवारी सम्हाल्न तयार रहेको कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामा बताउँछन् ।

संसदीय दलको नेता नै सरकारको नेतृत्वमा जाने दलको विधान रहेकोले यदी बागमतीमा कांग्रेसले नेतृत्व पाए इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सचेतक लामा बताउँछन् ।

यदी कांग्रेसबाहेक अन्य दलको नेतृत्वमा जाँदा पनि आफुहरु सरकारमा जान तयार रहेको उनको भनाई छ ।

‘नेतृत्व हामीले पाउने संभावना छ । नेपाली कांग्रेसले नेतृत्व पाउँदा इन्द्र बानियाँज्यू बाहेक अरु मुख्यमन्त्री बन्ने संभावना रहँदैन । अब माओवादी, एमालेकै माधव पक्षले नेतृत्व पाउँदा पनि हामी सघाउछौँ ।  उनले भने ।

आफुहरु केन्द्रीय निर्देशनको पर्खाइमा रहेको र निर्देशन प्राप्त हुनासाथ मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिने सचेतक लामाले बताए ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसंगै केन्द्रीय सरकार डेढ बर्षको लागि सुरक्षित भएको छ ।

प्रदेश नम्वर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा एमालेको केपी ओली पक्षको सरकार भएकोले यी ३ वटा सरकार परिवर्तनका लागि कसरत भइरहेको छ ।

बागमती प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको ५६, जसमध्ये माधव नेपाल पक्षको २२ र केपी पक्षको ३४ मत रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको २३, कांग्रेसको २२ र अन्य विपक्षी दलहरुको ८ मत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*