बागमती प्रदेशको बजेट अव्यवहारिक र अवैज्ञानिक – दुलाल
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले आगामी आर्थिक बर्षको लागि सरकारले ल्याएको बजेट अवैज्ञानिक , अव्यवहारिक र जनतामुखी नभएको बताएका छन् ।
प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता दुलालले सरकारले जनहितका लागि शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई उपेक्षा गर्दै मन्त्रीमुखी र विवेदकारी बजेट ल्याएको भन्दै आपत्ती जनाए ।
प्रदेश सरकारको सत्ताधारी दल नेकपा एमालले आफ्ना नेता तथा कार्यकर्ता लक्षित गर्दै विभिन्न योजनालाई टुक्र्याएर वितरण गर्न खोजेको, सम्भाव्यता अध्ययन नगरी सुरुङमार्ग निर्माणमा बालहठ गरेको, पूर्वाधार निर्माण नगरी विद्युतीय बस खरिद गरी कमिशन कुम्ल्याउन खोजेको भन्दै आरोप लगाए ।
बजेट गरिब तथा सिमान्तकृत जनताको लागि नभई ठूलाठालू र पहुँचवालाको लागि मात्रै ल्याइएको उनको आरोप छ ।
