सर्वोच्चको फैसला अगावै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै कांग्रेसको आपत्ती

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १५:५५

मकवानपुर । निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाको फैसला हुनु अगाबै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै कांग्रेसले विरोध जनाएको हो ।

कांग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने छ । त्यस्तै, आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ ।

कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*