अवरुद्ध बागमती प्रदेशसभा बैठक पुनः आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।
आइतबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो । सो बैठक विशेष कारणवस् आज दिउँसो १ बजेका लागि सारिएको बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभाको यसअघि शनिबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटमाथि छलफल गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि माग गरिएअनुसारको योजना र बजेट वितरणमा पक्षपात गरेर आफ्नो दलका नेताहरुलाई लक्षित गरेको आरोप लगाँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।
अवरुद्ध प्रदेशसभा बैठक संचालन गर्न बागमती प्रदेशसभाका सभामुख श्रेष्ठको सक्रियतामा आइतबार बसेको सर्वदलीय बैठकले विनियोजित बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक पुनः सुचार गर्ने निर्णय गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए ।
