अवरुद्ध बागमती प्रदेशसभा बैठक पुनः सुचारु हुने

तु खबर संवाददाता
२०७८ असार २०, आईतवार १७:०७

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलि सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजे बोलाइएको बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो । सो बैठक विशेष कारणवस् भोलि दिनको १ बजेसम्मका लागि स्थगित गरिएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको यसअघि शनिबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटमाथि छलफल गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि माग गरिएअनुसारको योजना र बजेट वितरणमा पक्षपात गरेर आफ्नो दलका नेताहरुलाई लक्षित गरेको आरोप लगाँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

अवरुद्ध प्रदेशसभा बैठक संचालन गर्न बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठकले विनियोजित बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक पुनः सुचार गर्ने निर्णय गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए ।

उक्त बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका नेता रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

भोलि बस्ने प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले सरकारले ल्याएको बजेट विनियोजितमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलहरुले उठाएको सरोकारको विषयमा स्पष्टिकरण दिने र प्रतिपक्षहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक निरौलाले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*