राष्ट्रपतिज्यू ! दासढुंगा काण्ड दुर्घटना थियो कि षड्यन्त्र ?

बलराम पुडासैनी
२०७८ जेष्ठ ३, सोमबार २१:३०

२०५० साल जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

एमालेको पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश लिएर नेताद्वय भण्डारी र आश्रित देशव्यापी अभियानमा जुटेका थिए ।

कास्कीमा एमालेको जिल्ला अधिवेशनमा भाग लिन काठमाडौंबाट उनीहरु पोखरा गएका थिए । मदन र आश्रित पोखराको कार्यक्रम सकेर सोही दिन चितवन जाँदै थिए । चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै थिए । तर, मदन र आश्रित चितवनको महिला अधिवेशनमा पुग्न पाएनन् । उनीहरु चढेको बा अ प ८७९३ नम्वरको गाडी राजमार्गबाट त्रिशुली नदिमा खसेको थियो ।

नेता भण्डारी र आश्रित वेपत्ता भएपनि गाडीका चालक अमर लामा भने बाँच्न सफल भएका थिए । तर, चालक लामाको पनि केही बर्ष पछि अज्ञात समूहद्वारा गोली हानी हत्या भएको थियो ।

त्यो, त्रासदीपूर्ण घटना घटेको आज २८ बर्ष वितिसकेको छ । तर, दासढुंगा घटनाको छानविन भने अझै हुन सकेको छैन । दासढुंगा काण्ड दुर्घटना हो वा षड्यन्त्र ? यो प्रश्न अझै अनुत्तरित छ । नहोस् पनि कसरी जसले घटनाबारे जान्न अग्रसरता देखाउनुपर्ने थियो, त्यही पक्ष मौन छ ।

२०५१ सालमा पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । एमाले एक्लैले बनाएको सो सरकारले त्यस विषयमा अनुसन्धान गर्ने चासो
देखाएन ।

२०५४ मा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको एमाले २०५७ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि सामेल थियो ।

२०६३ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि एमाले सरकारमै थियो ।

२०६५ सालमा तत्कालीन माओवादी केन्द्रले बहुमत ल्याएपछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि एमाले सरकारमै थियो । २०६६ सालमा एमालेकै माधव नेपाल प्रधानमन्त्री भए भने २०६८ मा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भए ।

हाल उनै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको पालक भनी आफुलाई सावित गराउन खोज्ने नेकपा एमालेका नेता केपी शर्मा ओली प्रधानमन्त्री  छन् । मदनपत्नी विद्यादेवि भण्डारी दुई पटक मुलुकको राष्ट्रपति भइन् । आश्रितपत्नी माया ज्ञवाली सांसद् भइन् । तर, उनीहरुलाई बर्षौँदेखिको यो रहस्यमय घटनाको सत्यतथ्य पत्ता लगाउनेतर्फ पटक्कै चासो भने देखिएन ।

तत्कानील माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलले नेता भण्डारी र आश्रितको षडयन्त्रपूर्वक हत्या गरिएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याउने बताएका थिए । उनले अभिव्यक्ति दिएको २ बितिसक्यो । तर, बादल पनि चुपचाप छन् ।

अन्य नेता तथा कार्यकर्ताहरुले पनि उनको स्मृति दिवसका दिन उनको शालिकमा माल्यार्पण गर्ने, सामाजिक सञ्जालमा तस्वीर पोष्ट्याउने र नेता भण्डारी र जनताको बहुदलीय जनवादबारे दुई चार शब्द  बयान गर्ने बाहेक केही ठोस पहल गरेको भने देखिँदैन ।

रहस्यमय त के छ भने गाडीका चालक लामाको हत्यारालाई समेत सरकारले पत्ता लगाउन सकेको छैन । सरकार चालक लामाको हत्या माओवादीले गरेको हो भन्दै पन्छिने गरेको छ ।

तत्कालिन एमालेका नेताहरुले भण्डारीको हत्यारा पत्ता लगाउन भन्दै आन्दोलनमा उत्रिएपछि तत्कालीन सरकारले पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग बनायो । एमालेले थप आन्दोलन चर्काएपछि  तत्कालीन बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा नेतृत्वयको आयोग गठन भएको थियो । तर सो आयोगले पनि जीप दुर्घटना हो वा हत्याकाण्ड हो खुलाउन नसकेपछि एमालेले त्यसबारे छानबिन गर्न तत्कालीन स्थायी समिति सदस्य हालका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा छानबिन समिति गठन भयो । पद्मरत्न तुलाधरको संयोजनमा पनि अर्को समिति बनाइएको थियो ।

ओली तथा तुलाधर दुवै समितिले घटनालाई षड्यन्त्रमूलक हत्या भएको ठहर ग¥यो तर दुवै आयोगले षडयन्त्र कसले गरेको हो र हत्या कसले गराएको हो भन्ने यकिन खुलाएनन् ।

षडयन्त्रकारीले नेता भण्डारीको हत्या गरेको निश्कर्ष निकालेका उनी ओली दुई पटक प्रधानमन्त्री, एक पटक गृहमन्त्री र एक पटक परराष्ट्र मन्त्री भइसकेका छन् । तर, अनुसन्धान गर्न एक पटक आयोग समेत बनाएनन् ।

विद्या भण्डारी राष्ट्रपति हुनुका अतिरिक्त एमालेकोे सरकार, त्यसमा पनि एमालेले नै बनाएको आयोगका संयोजक स्वयं केपी ओली नै प्रधानमन्त्री । यो भन्दा सायदै उत्तम अवसर फेरि जुर्ला ।

नेपाली जनता दासढुंगा प्रकरणबारे सत्यतथ्य जान्न आतुर छन् । सरकारले यसका लागि केही ठोस पहल गर्नैपर्छ ।  सत्यतथ्य जनतालाई बताउनै पर्छ । नत्र जनताले फेरी सोध्नेछन्,  ‘राष्ट्रपतिज्यू ! दासढुंगा काण्ड जीप दुर्घटना मात्र थियो कि षड्यन्त्र ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*