हेटौँडा अस्पतालको कोभिड उपचार कक्षका सबै बेड भरिए
मकवानपुर । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन् ।
कोरोना संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै बेड संक्रमितले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
अस्पतालले २० वेर्डको व्यवस्था गरी संक्रमितको उपचार कार्य सुरु गरेको थियो ।
अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० बेड क्षमतालाई विस्तार गर्दै हाल ४६ र्वेको कोभिड उपचार कक्ष संचालनमा ल्याएको छ ।
अस्पतालमा १४ बेड आइसियू, १६ बेड एचडियू, १६ बेड स्टेप डाउन र ४ वटा भेन्टिलेटर संचालनमा रहेका छन् ।
विरामीको आवश्यकताका आधारमा रोटेसनमा भेन्टिलेटरको प्रयोग गरिँदै आएको डा. काफ्लेले बताए ।
अस्पतालमा हाल आइसियूमा १५ जना, एचडियूमा १६ जना र स्टेपडाउनमा १६ जना संक्रमितहरु उपचाररत रहेका छन् । उपचाररत ३ जना कोरोना संक्रमितको अवस्था भने गम्भीर रहेको छ ।
केही संक्रमितहरुलाई भने इमर्जेन्सी कक्षमा नै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
