हेटौँडा अस्पतालको कोभिड वार्डमा वेड अभाव

तु खबर संवाददाता
२०७८ बैशाख २३, बिहीबार १२:०४

मकवानपुर । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौँडा अस्पतालको कोभिड वार्ड भरिएको छ ।

कोरोनाको दोस्रो लहल सुरु भएलगत्तै मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले संचालन गरेको कोभिड वार्डमा संक्रमित विरामीहरुको लागि वेड अभाव भएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले कोरोना संक्रमितको उपचारको लागि संचालन गरेको २० वेड क्षमताको उक्त वार्डलाई थप गर्दै ३० वेड बनाउँदासमेत अभाव भएको हो ।

तत्काल ३० वेड संचालन गर्दा पनि संक्रमित विरामीहरुलाई वेड उपलब्ध गराउन कठिन रहेको छ । संक्रमितहरुलाई केही समय अस्पताल बाहिर नै होल्ड गरेर राख्नुपर्ने अवस्था रहेको छ ।

वार्डमा २३ जना संक्रमित विरामीहरु उपचाररत रहेको र बाँकी रहेको ७ वटा वेड आजै भरिने अस्पतालका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

कोभिड वार्डमा रहेका २३ जना संक्रमित मध्ये एक जना भेन्टिलेटर, ३ जना हाइफ्लो न्याजल क्यानुलामा उपचारत छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ ।

‘कोरोना संक्रमितहरु बढ्दै जाँदा, कोभिड वार्डको २३ वटा वेड भरिएका छन् । अन्य वेड पनि आजै भरिन्छ । त्यसपछि विरामी भर्ना गर्न समस्या पर्ने देखिएको छ ।’ उनले भने ।

हेटौँडा अस्पताले ७ वेड थप गरेर कूल ३७ वेड क्षमताको आइसियुसहितको कोभिड उपचार कक्ष संचालनको तयारी गरिरहेको छ । तर त्यो पनि पर्याप्त भने छैन ।

‘हामी ३७ वेडको कोभिड वार्ड संचालनको तयारीमा छौँ । त्यसपछि वेड क्षमता बढाउन कठिन छ ।’ डा. काफ्लेले भने ।

अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारी अभाव

वेडसँगै अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारीको अभाव खड्किएको छ । अस्पतालको कोभिड वार्डमा हाल ८६ जना स्वास्थ्यकर्मीसहितका कर्मचारी कार्यरत छन् । उनीहरुलाई ८ घण्टाको फरकमा ३ सिफ्टमा काम लगाइएको छ ।

तत्कालको अवस्था हेर्ने हो भने ३ जना विरामीका लागि एक जना नर्स आवश्यक हुनुपर्ने डाक्टर काफ्ले बताउँछन् । तर, हेटौँडा अस्पतालको उक्त वार्डसहित ल्यावमा जम्मा २२ जनामात्रै नर्स कार्यरत छन् ।

हाल अस्पतालमा आइसियु र एचडियुमा गरी कूल २४ जना विशेषज्ञ र डाक्टरले डाक्टरले सेवा दिइरहेका छन् भने ४० जना नर्स र २२ जना सहयोगी दैनिक ८ घण्टा खटेर सेवा दिइरहेका छन् ।

उक्त वार्डमा २ जना विशेषज्ञ डाक्टर र ५ जना डाक्टर आवश्यक रहेको भएपनि परिपूर्ति हुन सकेको छैन ।

रेम्डिसिभर छैन

संक्रमित विरामीहरुको लागि आवश्यक पर्ने रेम्डिसिभर औषधीसमेत बजारमा उपलब्ध नभएको डाक्टर काफ्लेले गुनासो गरे ।

कोभिड वार्ड संचालन गरेपश्चात संक्रमितहरुको लागि आवश्यक पर्ने औषधीहरु भएपनि उक्त औषधी संक्रमितको लागि प्रभावकारी देखिएको तर, हेडौँडाको कुनैपनि स्वास्थ्य सामग्री बिक्रि गर्ने पसलमा नभएको उनले बताए ।

औषधी प्राप्त हुने हो भने संक्रमित विरामीको उपचारमा थप सहयोग पुग्ने उनको विश्सास छ । विरामीका आफन्तले उपलब्ध गराएको अवस्थामा भने आफुले उक्त औषधी चलाउने उनले बताए ।

हेटौँडा अस्पतालको पिसिआर ल्याव भने २४ सै घण्टा संचालनमा रहेको छ ।

कूल ८ जना स्वास्थ्यकर्मीहरुले स्वाब संकलनसहित काम गरिरहेका छन् । दैनिक १ सय ८० जनाको स्वाबको नमूना परीक्षण गर्ने क्षमता रहेको उक्त ल्याबमा २ सिफ्टमा स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*