मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुन्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा अब छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मृगौला दिवसका अवसरमा बिहिबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारी दिए ।
उनले भने, ‘मृगौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’
‘हाम्रो खानपिन वा दैनिकीमा मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिन जरुरी छ,’ उनले भने । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उनले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले पहिलोपटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि स्मरण गराए ।
