चोरीको सासमाथि जीवनको धाक
आजीवन मानिसले पाउने सास कहाँबाट लिएको हो ? के सास निशुल्क पाइन्छ ? निशुल्क नै यदि पाइँदो हो त निशुल्क पाइने जति कुरा जहाँ पनि र जुनसुकै परिस्थितिमा पनि सजिलै लिने ? यदि लिइएको हो भने त्यो दयाले प्राप्त गरेको हो कि अधिकारले ग्रहण गरेको हो ? कि दयामा केही कुरा लिन नचाहने अर्थात् कसैले ममाथि दया नगरोस् भन्ने भावना मनभित्र रहेको छ ? वास्तवमा दया त दीनहीन वा कमजोरमाथि गरिन्छ, यसैले कसैले दया गरेर दिएको वस्तु म किन लिन्थें भन्ने भावना मनभित्र रहेको छ भने यो भावना साह्रै राम्रो छ, यसलाई सम्मान गर्छु र यस किसिमको भावना मनमा लिनेहरुलाई शब्दले अभिनन्दन गर्दछु ।
सास लिएर जीवन बाँचेको देखाउँछौँ । सामान्य दृष्टिमा त यही हो कि जसले सास लिइरहेको छ र लिएको सास फालिरहेको छ, ऊ जीवित हो । हामी सास लिइरहेका छौँ तर कहाँबाट लिइरहेका छौँ र सास फालिरहेका छौं तर कहाँ फालिरहेका छौँ ? हामीले लिने सास कहाँबाट आउँछ र हामीले फालेको सास कहाँ जान्छ ? जसरी अर्काको कुरा केही पनि नलिने अवधारणा मनभित्र छ, त्यसै गरी अर्काको ठाउँमा नसोधी त्यत्तिकै आफ्ना कुरा मिल्काउनु हुन्न भन्ने पनि बुझेका छौँ । यस अर्थमा हामीले फालेको सास वातावरणमै जान्छ अर्थात् हामीले जानेर वा नजानेर तथा चाहेर पनि नचाहेर पनि वातावरणलाई हाम्रो प्रदूषित सास फाल्ने कन्टेनर ठानेका रहेछौँ । वातावरण त सबैको हो र यसबाट सबैले लाभान्वित हुन पाउनु पर्छ भन्नुहोला भने यो सत्विचार हो तर यसको संरक्षण पनि सबैले गर्नुपर्छ भन्ने विचार मस्तिष्कमा उम्रदैन भने त्यो सत्विचार अपुरो छ, अधुरो छ ।
वातावरणबाट लिन मात्र जान्ने र वातावरणलाई दिन चाहिँ केही पनि नदिनेहरुले देखिसकेका छन् – काठमाडौँ निस्सासिन सक्छ । हेर्दाहेर्दै एक दिन त झन्डै विश्वकै प्रदूषित सहरको ताज शिरमा लगाउन पुगेको थियो हाम्रो राजधानी काठमाडौँले । वातावरणले स्पष्ट शब्दमा भनिसकेको छ – मलाई पनि सास फेर्न देऊ । सबैलाई प्राणवायु दिने र सबैले फालेको सासको कन्टेनर बनेर म आफैं निस्सासिइसकेको छु ।
अलकत्रा, कंक्रिट र सिमेन्ट जताततै बिछ्याइएका छन् र अग्ला घरहरु उम्रिरहेका छन् । वाहनहरुले फाल्ने धुवासँगै उद्योगहरुबाट निस्कने मुस्लोले वातावरणमाथि निर्घात आक्रमण गरिरहेको छ । सडकको धुलोले निरन्तर प्रहार गरिरहेको छ । प्लास्टिकजन्य पदार्थले वातावरणको मर्ममा हानिरहेको छ । कीटनाशक औषधि तथा अन्य रसायन र रासायनिक पदार्थले वातावरणका फोक्सोका नलिकाहरुमा जाम गरिरहेका छन् कार्यालयको समयमा हुने काठमाडौँका सडक र गल्लीका ट्राफिक जामजस्तै । वनक्षेत्रमा कहिले वैज्ञानिक व्यवस्थापन त कहिले चोरी निकासीको कहर हुन्छ जसले अन्ततः वातावरणलाई नै लघारीलघारी कुटेको छ । नदीजन्य पदार्थको दोहनको नाउँमा वन र पहाड क्षेत्रको धरतीको मुटु लुछेर विकास भएको होओस् वा सडक सञ्जालको नाममा पर्वत तथा पाखाहरुलाई थर्काएर तिनीहरुको जीवनमा हस्तक्षेप गरेर होओस्, सबैतिरबाट त्यही सासदायिनी वातावरणमाथि वज्र प्रहार गरेर विजयको दुन्दुभी बजाइएको छ । प्रकृतिमाथि विजयको दम्भमुनि दबिदै गएको सासलाई बचाउने कि सासलाई पनि दुर्घटना हुन कान्ले भीरतिर धकेल्ने ?
प्रकृतिमाथि जतिसुकै विजयको धाक लगाए पनि सास भने अझै पनि उही प्रकृतिबाट सुटुक्क चोरेकै हौं । चोरीको सासले जीवन धानेको छ । यही अवस्थामा बाँचेको धाक छ हामीसित, जीवित रहेको गर्व पनि छ र जीवनमाथि गौरव पनि गरिरहेका छौँ । फालेको सासको गन्ती नै गर्दैनौं । के फालेको सास मूल्यहीन छ त ? चोरीको सासमाथि भन्नुलाई आरोप राखेर विमति राख्नेलाई सलाम छ । यसरी विमति राख्न पाउनेले स्वआर्जित सास लिएका छन् भन्ने अथ्र्याउँछु । स्वार्जित सासको अर्थ हो आफैले लगाएको विरुवाबाट सास लिनु ।
वास्तवमा जसले आफूले लगाएको विरुवाबाट दिनभरिको सास धान्छन्, उनैले चोरेको सास लिएका छैनन् । सास पैतृक हुन सक्दैन । यसकारण पितापुर्खाले लगाइदिएको विरुवाबाट पाएको सास पनि उही दानमा पाएको वा दयामा प्राप्त गरेको सास हो । कसैले दया गरेको मन नपराउने स्वाभिमानी पुरुषले आफ्नो जीवनमा कति विरुवा लगाए ? कति विरुवा सखाप पारे ? कतिपय जीवन त यस्ता पनि छन् जो अरुको भागको सास खोसेर लिइरहेका छन् । दिनभरमा हजारौँ पल्ट लिने सासमा एकमुठी पनि आफ्नो आर्जनको हुँदैन । यदि एकमुठी सास आफ्नो आर्जनको छैन भने फालेको सास पनि कहाँ राख्ने ? सास बिसाउने ठाउँ पनि चोरीकै हो कि ? यसरी चोरीको मान्न अप्ठ्यारो हुन्छ भने उधारो त मान्न सकिएला ।
लिइएको सासमाथि टेकेर उभिएको हुन्छ जीवन । जीवनले लिएको सास पचाउँदैन । लिएको सासको रुप परिवर्तन गरेर फाल्दछ । फालिएको सास रुख विरुवाले लिन्छन् । यसरी रुखमाथि वातावरण र मानिसको जीवन निकै नजिकबाट गाँसिएको छ । वातावरणमा रुखको महत्व अत्यधिक रहेको छ । यसकारण फालिएको सास मूल्यहीन कदापि होइन । फालिएको भनिएको सासले अर्को सासलाई आउने ठाउँ दिएको हुन्छ त कसरी मूल्यहीन हुन सक्दछ । लिइएको सास केही गरी फोक्सोमै अडिनु हुँदैन । यदि यसो हुन्छ भने जीवन त रहँदैन ।
कुनै पनि मूल्यभन्दा मूल्यवान छ जीवन । जीवन धान्न आफ्नै सासको जोहो आवश्यक छ । अर्काको दयाको भरमा वा चोरीको भरमा सास धान्नु हुँदैन । आफ्नो सासको लागि आफ्नै आर्जन हुनु आवश्यक छ । हामीलाई स्वाभिमानी सास चाहिएको छ । स्वाभिमानको सासमा अडिएको गौरवमय जीवन चाहिएको छ । स्वार्जित सासको मूल्य सित्तैमा दयाको भरमा पाइएको वा दाइँजो–पेवाजस्तै अथवा पैतृक सासको मूल्यभन्दा निकै माथि छ । चोरीको सासमाथि जीवनको उल्लास त वास्तवमा सक्कल बमोजिमको नक्कल ठीक छ भनेजस्तै हो । दुवै हातका बूढी औलाहरुले सहुँला बुझाउँला भनी सही–छाप गरेर उधारोमा लिएको सासमाथि जीवनको धाक लगाउनेहरु छन् । सासमाथि पौरुष नदेखाउनेहरु केही कदसम्म दयाका पात्र पनि हुन् । सासदायिनी वातावरणले आज नगद र भोलि उधारो भनी ट्याग झुन्ड्उनुअघि अलिकति आफूले लिने सास र आफूले फाल्ने सासप्रति गम्भीर समीक्षा गर्नु परेको छ ।
कम्तीमा यस्तो जीवनको अपेक्षा राखौँ कि आफूले लिएको सास आफ्नो लागि र आफ्नो आर्जन होओस् हैनभने देशमा वैदेशिक ऋण बढ्यो र प्रतिव्यक्ति ऋणको भार बढ्दै गएको छ भनी चिन्ता व्यक्त गर्ने बेपारी कालाबजारीको आरोपमा पक्राउ परेजस्तै सही अर्थमा जीवन सक्कली बन्न सकेको हुँदैन । ओठे देशभक्तिले सही जीवनको अर्थ बुझ्ने एउटा मार्ग स्वआर्जनको गौरवशाली सास पनि हो । दयाको भरमा बाँच्नेहरु पनि छन् तर दयामा बाँच्नुपर्ने विवशता पनि हुन सक्छ । विवशबाहेकमा स्वाभिमान जागृत हुुनपरेको छ ।
