पार्टी एकताबद्ध भएर अघि बढछ : अर्थमन्त्री पौडेल

रासस
२०७७ मंसिर ३०, मंगलवार १५:०९
file-photo

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टीमा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रवास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।

अर्थमन्त्रीले भने, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै टिक्ने र पार्टीको घोषणापत्रमा गरिएका प्रतिबद्धता जनचाहनाअनुरुपका काम पाँच वर्षको अवधिमा पूरा गरेरै छाड्नेछ ।’’ उनले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने बताउँदै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हालेर ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई पनि त्यस्तो सपना नदेख्नसमेत आग्रह गरे । “नेकपा र यसको एकताबद्ध अस्तित्वलाई चुनौती दिन सक्दैन, नेकपा एकताबद्ध भएर अघि बढ्छ”, उनले भने, “नेकपामा सुँढ घुसाएर विग्रहको खोजी गर्ने जे जस्ता प्रवृति भएका छन् ती सबै असफल हुन्छन् ।”

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशमात्र नभएर देशकै केन्द्रका रुपमा विकसित हुँदै गएको बताउँदै १० वर्षअगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तीव्र गतिमा अगाडि बढेको बताए । उनले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले विद्यालयले सिङ्गो प्रदेशमा नमूना विद्यालयका रुपमा स्थापित गर्न सरकारका तर्फबाट बजेटको कमी नहुने बताए ।

यसैगरी प्रदेशसभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले रुपन्देहीमा शिक्षा क्षेत्रको विकासमा फड्को मारेको बताउँदै जीवनपयोगी शिक्षा दिने र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा कान्ति माविको योगदान महत्वपूर्ण रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी प्रदेशमा शिक्षाको केन्द्रका रुपमा बुटवल विकसित हुँदै गएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालयलाई लुम्बिनी प्रदेशमै विज्ञान विषयको केन्द्रका रुपमा विकास गरी खोज, अनुसन्धान र सिकाइको केन्द्र बनाउने लक्ष्य रहेको बताए । सोहीअनुरुप दुई/दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकार र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु १३ करोड ६५ लाखमा चारतले ३५ कोठाको विज्ञान भवन र तीन/तीनतलाको २४/२४ कोठाका दुईवटा छात्रवास भवनको शिलान्यास गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*