काँग्रेस सभापति देउवाको चेतावनीः सरकारको सशक्त प्रतिरोध गर्छौं
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
सभापति देउवाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लेखेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’
कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।
उनले लेखेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’
