म ओली र प्रचण्ड जस्तो होइन, मौका पाए कायापलट गर्छु – कांग्रेस नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनताको पक्षमा केही गर्न नसकेको आरोप लगाएका छन् ।
उनले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले भन्दा आफूले मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने समेत बताए ।
उनले आफुले मौका पाए मुलुकमा विकासको कायापलट हुने गरी काम गरेर देखाउने बताए ।
ओली र प्रचण्डले काम गर्ने मेसो नपाएको उनको भनाई छ ।
‘कामको मेसो जान्नुपर्यो नि, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ।’ –उनले भने ।
उनले ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो योगदान धेरै भएको पनि उल्लेख गरेका छन्।
आफ्नो विचार थुन्न आफूलाई १४ वर्ष जेलमा थुनिएको प्रसंग निकाल्दै पौडेलले थपे, ‘केपीलाई जस्तो ज्यान मुद्दामा मलाई जेल राखेको होइन। म आस्थाको बन्दी हो। आस्था र सिद्धान्तका लागि जेल बसेको। यिनीहरूसँग म किन झुक्ने ?’
नैतिक र राजनीतिक रूपमा ओली–प्रचण्डसँग फेस गर्ने हिम्मत आफूसँग रहेको पौडेलले बताए।
‘देशलाई निकास दिन सक्ने क्षमता मसँग छ,’ उनले भने, ‘कम्युनिष्टले केहि गर्न सकेनन् अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश १४ औं महाधिवेशनबाट दिनुपर्छ।’ कम्युनिष्टहरूले हल्ला गर्ने तर देश विकास गर्न नसक्ने उनले आरोप लगाए।
