हेटौंडाको बासुदेव सभागृह नभत्काउन सांसदको आग्रह

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार १२:३८

हेटौंडा, १३ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको बासुदेव सभागृह नभत्काउन प्रदेशसभा बैठकमा आवाज उठेको छ । बासुदेव समागृह र सँगै रहेको राजा वीरेन्द्रको शालिक नभत्काउन सांसद रित माझीले आग्रह गरेकी छिन् ।

सोमबार बसेको बागमती प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद माझीले बासुदेव सभागृह भत्काएर भ्युटावर बनाउने योजनाको विरोध जनाइन् । उनले सभागृह र वीरेन्द्रको शालिक भत्काएर भ्युटावर बनाउने हेटौंडा उपमहानगरपालिकाको निर्णय सच्चाउन आग्रह गरिन् ।

हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले सभागृह भत्काएर १ विगहा क्षेत्रफलमा बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने निर्णय गरेको थियो । सभागृह निर्माण गर्दा प्राविधिक त्रुटी भएको भन्दै हेटौंडा उपमहानगरपालिकाले भत्काउनु पर्ने योजना अघि सारेको हो ।

उनले सभागृह र शालिक भत्काउने कार्यमा प्रदेश सरकार संलग्न रहेको र प्रोत्साहन गरिरहेको भन्दै प्रदेश सरकारले पनि निर्णय गरेको भए निर्णय सच्याएर फिर्ता लिन आग्रह गरेकी छिन् ।

‘बासुदेव सभागृह भत्काउन जरुरी छैन् । हेटौंडाका विभिन्न महत्वपूर्ण स्थान छ, त्याहाँ भ्यु टावर बनाउन आग्रह गर्छु । सभागृहको मर्मतसम्भार गरेर सञ्चालन गरौं ।–’ सांसद माझीले भनिन् ।

उनले विगतको सरकारले संरचना बनाउँदै जाने र अहिलेको संघीय, प्रदेश सरकारले भत्काउँदै जाने हो भने कस्तो सिस्टम बसालिरहेको ? भन्दै उनले प्रश्न गरिन् । राज्यको लगानीलाई स्वाह पार्न नहुने धारणा राखेकी छिन् ।

राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले पनि सभागृह भत्काउन नदिने बताएका छन् । उनले केही दिनअघि हेटौंडा आएर सभागृह र वीरेन्द्रको शालिक भत्काउन नहुने बताएका थिए ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*