हेटौंडा उपमहानगरको गौरव योजनाः प्रदेश मन्त्रालयलाई जग्गादेखि भ्युटावरसम्म
हेटौंडा, २१ पुस । हेटौंडा उपमहानगरपालिका कार्यालयले आफ्ना २० वटा गौरव योजना सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका बैठकले आज आइतबार निर्णय गर्दै गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको थियो ।
हेउमनपाले प्रदेश मन्त्रालय, प्रदेशसभा भवनलगायतका अन्य कार्यालयहरुको लागि सम्भावित जग्गा छनौट गरेको छ । उक्त जग्गाको छनौट गरी प्रदेश सरकारलाई जानकारी गराउने हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
हेटौंडा–९ लामसुरे हाइटको हसेउलीमा ५४ विगहा जग्गा हेटौंडा–५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र (साविक मत्स्य विकास केन्द्र)को २७ विगहा जग्गा छनौट गरेको छ ।
मत्स्य केन्द्रमा यसअघि नै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयलगायतका संरचना निर्माण गर्ने बताएका थिए । कार्यपालिका बैठकले क्याम्पाचौर मैदानलाई असर नपर्ने गरी जग्गा उपलब्ध गराइने नगर प्रमुख महतले बताए ।
यसैगरी हेटौंडा–४ हुप्रचौरस्थित बासुदेव सभागृहलाई भत्काएर बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाइने भएको छ । भ्युटावर निर्माण गर्न १ विगहा जग्गा आवश्यक रहेको बताइएको छ । भ्युटावर निर्माण गर्न २ करोड रुपियाँ विनियोजित भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १० विगहा भन्दा बढी जग्गा आवश्यक रहेको औंल्याउँदै हेटौंडा–१० को टिसिएनको खाली जग्गा उपलब्ध गराइने नगर प्रमुख महतले बताए ।
हेटौंडा–८ मा ५ विगहा, हेटौंडा–१३ मा ३ दशमलव ५ विगहा र हेटौंडा–१५ फायरलाइन रोडमा ६ कठ्ठामा एकीकृत वस्ती विकास गर्ने गरी ३० करोड बजेट बिनियोजित भएको छ ।
हेटौंडा–११ थानाभर्याङमा कृषि सुपर मार्केटलाई २ विगहा, हेटौंडा–१५ रातोमाटे र राप्ति नदी उकास क्षेत्रमा अटो भिलेजलाई २ करोड बजेट, हेटौंडा–७ स्मृति टोलमा अपाङ्ता पुर्नस्थापना केन्द्रलाई २ करोड बजेट छुट्याएको छ ।
यसैगरी सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड, इञ्जिनियरिङ प्रयोगशाला, अन्तर्राष्ट्रियसभा हल, एकीकृत चार्जिङ स्टेशन, घरेलु तथा औद्योगिक सामग्री घर, पर्यटन सूचना केन्द्र, बसपार्क र सामुदायिक आँखा अस्पतालमा हेटौंडा उपमहानगरपालिकाले लगानी गर्ने जानकारी दिएको हो ।
हेर्नुहोस यस्ता छन् योजना

