हेटौंडाले नामकरण गरेको बासुदेव सभागृहलाई कमल थापाले भने ‘ज्ञानेन्द्र सभागृह’

तु खबर संवाददाता
२०७६ माघ २, बिहीबार १८:३२

हेटौंडा, २ माघ । हेटौंडा–४ स्थित हुप्रचौरसँगै रहेको बासुदेव सभागृहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले ‘ज्ञानेन्द्र सभागृह’ लेखेका छन् ।

विगत लामो समयदेखि मकवानपुरबासीले दोस्रो जनआन्दोलनका सहिद बासुदेव सभागृहको नाममा संबोधन गर्दै आएको उक्त सभागृहलाई कमल थापाले तत्कालिन राजा ज्ञानेन्द्र शाहको नाममा ‘ज्ञानेन्द्र सभागृह’ संबोधन गरेका हुन् ।

उनै थापा स्थानीय विकास मन्त्री हुँदा सभागृहको लागि बजेट छुट्याएका थिए । स्थानीय विकास मन्त्रालय, तत्कालिन जिल्ला विकास समिति र तत्कालिन हेटौंडा नगरपालिकाले संयुक्त रुपमा सभागृह निर्माणको लागि बजेट हालेका थिए ।

हेटौंडा नगरपालिकाले वीरेन्द्र सभागृहलाई दोस्रो जनआन्दोलनपछि सहिद बासुदेव घिमिरेको नाममा बासुदेव सभागृह भनी नामकरण गरेको थियो ।

बासुदेव सभागृह पूर्णरुपले निर्माण भइसकेको छैन । सभागृह बनाउँदा प्राविधिक त्रुटी भएको भन्दै हेटौंडा उपमहानगरपालिकाले यसलाई भत्काएर बासुदेव स्मृति कमर्सियल ‘भ्युटावर’ बनाउन योजना अघि सारेको छ ।

उनले ट्वीटरमा लेख्दै ज्ञानेन्द्र सभागृहको दयनीय अवस्था देखेर दिक्क लागेको बताएका छन् । ‘बिहानी हिडाईको क्रममा आज हेटौंडा हुप्रचौरस्थित ‘ज्ञानेन्द्र सभागृह’को दयनीय अवस्था देखेर दिक्क लाग्यो ।–’ थापाले लेखेका छन् ।

‘प्रदेशको राजधानी हेटौंडामा एउटा पनि सभागृह छैन । राज्यको ५० औं लाख खर्च गरेर तयार भएको उक्त सभागृहलाई मर्मतसम्भार गरी प्रयोगमा ल्याउन प्रदेश सरकार र उपमनपाको ध्यान आकर्षित गर्छु ।–’ थापाले लेखेका छन् ।

हेर्नुहोस यस्तो लेखे कमल थापाले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*