हेटौंडमा कार्यव्यवस्था समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७६ पुष २३, बुधबार १२:०७

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज बुधवार दिउँसो ३ बजे पुनः बस्दैछ । सोमबारबाट सुरु भएको प्रदेशसभाको बैठक आज पुनः बस्न लागेको हो ।

प्रदेशसभा बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । कार्यव्यवस्था समितिको बैठकले आज दिउँसो बस्ने सदनको कार्यतालिका तय गर्नेछ ।

आजको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको प्रक्रियामात्र अगाडि बढ्ने भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशको राजधानी र नामाकरणको स्थायित्वका लागि सदनमा महत्वपूर्ण मानिएको मतदान प्रक्रिया भने तत्काल अगाडि नबढ्ने भएको छ ।

यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक दुईपटक बसिसकेको छ । मन्त्रीपरिषद्ले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेपछि तत्काल बसेको कार्यव्यवस्था परामर्शक समितिको बैठकले राजधानी र नामको प्रक्रिया अगाडि बढाएर २२ गते मतदान गर्ने कार्यतालिका तय गरेको थियो ।

राजधानीको विषयमा विवाद हुँदा २२ गते हुने भनिएको मतदानको मिति सरेको थियो । पुस २१ गते पुनः बसेको कार्यव्यवस्था समितिको बैठकले सोही दिनको प्रदेशसभा बैठकमा प्रदेशको नाम सम्बन्धी कार्यविधि प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो । उक्त प्रस्ताव संसदले पारित गरिसकेको छ ।

सभामुख श्रेष्ठले सहमतिको आधारमा राजधानीको स्थान र नाम तोक्नका लागि दलहरुले आन्तरिक तयारी गरिरहेको जानकारी गराएको बताए ।

सहभामुख श्रेष्ठले दलहरु बीच सहमति भएपनि प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा सदनबाट मतदान प्रक्रियाबाटै टुंग्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको बताए । उनले मतदानको मिति कार्य व्यवस्था तथा परामर्श समितिको बैठकबाटै टुंग्याइने जानकारी दिए ।

नेकपा प्रदेशसभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*