प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने तयारी

तु खबर संवाददाता
२०७६ बैशाख २०, शुक्रबार १०:०५

मकवानपुर – प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् ।

हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै यसबारे सकारात्मक हुनुहुन्थ्यो ।
स्थायी राजधानी हेटौंडा र राजधानीको नाम भने बाग्मती राख्नका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको बुझिएको छ । सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताउनुभएको बैठकमा सहभागी एकले खुलासा गरेका छन् ।

अहिले जुन स्थानमा भए पनि कुनै काम गर्न समस्या नभएकाले कामलाई प्राथमिकता दिन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको ती सहभागीले बताए । यसभन्दा पहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने स्थायी राजधानी हेटौंडा नै रहन्छ भनेर सार्वजनिक रुपमा संकेत गरिसक्नु भएको छ ।

नेकपाका दुवै अध्यक्ष ओली र दाहाल हेटौंडा राजधानी राख्ने पक्षमा उभिए पनि कसरी र कुन तरिकाले स्थायी राजधानी राख्ने र नामाकरणका बारेमा प्रदेश सभाका सदस्यहरुलाई सर्कुलेशन गर्ने भन्नेमा अन्योल नै रहेको नेकपाका एक केन्द्रीय नेताले बताएका छन् ।

राजधानी र नामाकरणको विषय कहिले र कसरी टुङ्गो लगाउने भन्नेमा प्रधानमन्त्री ओलीले खुलाउनुभएको छैन । प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले पनि दुई अध्यक्षको सुझावअनुसार नै राजधानी र प्रदेशको नामाकरण हुने प्रबल सम्भावना रहेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश सरकार सुरु भएदेखि नै राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताउँदै आउनुभएको छ । यसबारे उहाँले पार्टीका केन्द्रीय स्तरका नेताहरुसँग पनि पटकपटक छलफल गर्दै आउनुभएको छ ।

राजधानी हेटौंडाबाट नसर्नेमा ढुक्क हुनुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सभाको हिउँदे अधिवेशनमा राजधानीको विषयमा टुङ्गो लगाउने भने पनि त्यो काम भने हुन सकेन । अब वर्षे अधिवेशनमा पनि राजधानीको विषयले प्रवेश पाउने निश्चित छ । .

उज्यालो अनलाइनमा यो समाचार हरि हुमागाईले लेखेका छन् । सोही अनलाइनबाट हामीले साभार गरेका हौँ । सं.

यो पनि पढ्नुहोस्- 

मुख्यमन्त्रीको प्रतिवद्धता अनुसार : हिउँदे अधिवेशनअघि प्रदेशको राजधानी पनि टुङ्गोमा पुगेन

डेढ वर्षसम्म पनि प्रदेशको राजधानी तोकिएन, सांसद भन्छन्–मुख्यमन्त्री षड्यन्त्रमा लागे

३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आजबाट, राजधानीको विषयले प्रवेश पाउँदै

‘हेटौंडालाई प्रदेशको राजधानी बनाउने हो भने २५ मिटर सडक विस्तार गर्नुपर्छ’ : राष्ट्रियसभा सदस्य विडारी

प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल

हेटौंडालाई राजधानी बनाउन गर्यो काँग्रेसले नाराजुलुस

हिउँदे अधिवेशन पछि प्रदेशको नाम र राजधानी टुंगो लाग्ने : मुख्यमन्त्री पौडेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*