‘हेटौंडालाई प्रदेशको राजधानी बनाउने हो भने २५ मिटर सडक विस्तार गर्नुपर्छ’ : राष्ट्रियसभा सदस्य विडारी

२०७५ फाल्गुन २७,सोमबार १६:५६

मकवानपुर २७ फानगु । राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले हेटौंडालाई प्रदेशको राजधानी बनाउँने हो भने २५ मिटर सडक विस्तार अनिवार्य रुपमा गर्नुपर्ने बताएका छन् । आज तु खबरसंग विशेष कुराकानी गर्दै विडारीले सडक फराकिलो पारेपछिमात्रै राजधानीको लागि उपयुक्त हुने र राजधानी जस्तो देखिने बताए ।

तु खबरले प्रदेशको राजधानी हेटौंडा हुन्छ वा हुँदैन ? केन्द्रिय स्तरबाट यस विषयमा कस्तो पहल भईरहेको छ ? भन्ने जिज्ञासा राखेपछि उनले राजधानीको लागि केही भौतिक पूर्वाधारहरुको विकास अनिवार्य रहेको बताए । उनले भने ‘ पहिले म सानो छँदा पूर्वपश्चिम राजमार्गको सडक पनि फराकिलो लाग्थ्यो, तर मलाई उक्त सडक निकै साधुँरो लाग्छ, त्यसकारण अहिले म २५ मिटर फराकिलो पार्नुपर्छ भन्ने पक्षमा छु । किनकी सवारीको आवश्यकता अनुसारको सडक छैन । ट्राफिक व्यवस्थापनमा समस्या छ । त्यसैले पहिले सडक फराकिलो पार्दामात्रै राजधानी तोक्न उपयुक्त हुन्छ ।’

उनले प्रदेश सरकारले १६ मिटर सडक फराकिलो पार्ने निर्णय गरेपनि पछी फेरी थप विस्तार गर्नुपर्ने भएकोले अहिलेनै २५ मिटर सडक विस्तार गर्न प्रदेश सरकारलाई सुझाएका छन् ।

उनले हेटौंडालाई स्थायी राजधानी तोक्न, सडक फराकिलो मात्रै पारेर नहुने बताए । हेटौंडाको औद्योगिक क्षेत्रको विस्तार गर्नुपर्ने, सुरुङ्मार्ग निर्माण गर्नुपर्ने विषयमा पनि प्रदेश सरकारले जोड दिनुपर्ने उनको भनाई छ । सडक विस्तारको हकमा भने सरकारले २५ मिटर सडकक्षेत्रभित्र पर्ने घरहरु भत्काउँदा ध्यान दिनुपर्ने बताए । घर भत्काउँदा घरबार विहिन हुने खालका मानिस छन् की छैनन् पहिले त्यस्ताकोे पहिचान गरेरमात्रै मुआब्जाको व्यवस्था गर्नुपर्ने उनको धारणा छ । उनले संसद्मा पनि यस विषयलाई उठाउने समेत बताएका छन् ।