रुसमा बन्यो कोरोनाविरुद्ध खोप
मस्को (एजेन्सी) । रुसले कोभिड–१९ विरुद्धको खोप तयार गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोभिड–१९ विरुद्ध विश्वकै पहिलो खोपलाई मान्यता दिइएको बताएका छन् । गमालेया रिसर्च इन्स्टिच्युटले बनाएको उक्त खोपलाई करिब २ महिनासम्म मानिसमा परीक्षण गरेर रुसी स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । ‘स्पुतनिक–५’ नाम दिइएको उक्त खोपको एक अर्ब मात्रा माग भइसकेको जनाइएको छ । उक्त खोप अक्टोबरदेखि आम सर्वसाधारणलाई दिने योजना बनाइएको छ ।
बीबीसीका अनुसार पुटिनले कोभिड–१९ विरुद्धको खोपबारे मंगलबार राजधानी मस्कोमा मन्त्रीहरूलाई जानकारी गराएका हुन् । उनले खोपले रोग प्रतिरोधात्मक क्षमता विकास गरेको र आवश्यक परीक्षण भइसकेको जनाएका छन् । पुटिनले यो खोप आफ्नी एक छोरीलाई समेत दिइएको बताए । ‘मेरी छोरी पनि परीक्षणमा सहभागी भइन्,’ उनले भने, ‘उनमा केही ज्वरो देखिएको भए पनि हाल उनी ठीक छिन् ।’ उनले कुनचाहिँ छोरीलाई खोप दिइएको हो भन्ने खुलाएका छैनन् । ६७ वर्षीय पुटिनका दुई छोरी छन् । राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा छोरीबारे विरलै कुरा गर्छन् ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले नवनिर्मित खोप निकै प्रभावकारी र सुरक्षित प्रमाणित भएको बताएका छन् । रुसी वैज्ञानिकहरूले मानव जातिको पक्षमा विजय हासिल गरेको उनको भनाइ थियो ।
गमालेया रिसर्च इन्स्टिच्युटका प्रमुख एलेक्जेन्डर गिन्चबर्गले संक्रमितको प्रतिरोधी क्षमता बढाउन उक्त खोपमा एडेनोभाइरसको अनुकूल अंश प्रयोग गरिएको जानकारी दिए । उक्त एडेनोभाइरस सामान्यतया मानिसमा हुने रुघाखोकीको कारक हो । रुस सरकारले गत साता कोभिड–१९ विरुद्धको खोपमा सफलता हासिल भएको जनाउँदै आम सर्वसाधारणलाई खोप दिने तयारी भइरहेको बताएको थियो । रुसी वैज्ञानिकहरूले सुरुवाती चरणका परीक्षण सकिएको र नतिजा निकै सफल देखिएको जनाएका थिए । विज्ञहरूले भने खासगरी आवश्यक प्रक्रिया पूरा नगरी तीव्र परीक्षण गरिएको टिप्पणी गरेका छन् । ठूलो स्तरमा मानिसमा परीक्षण नगरिएको भनेर समेत उनीहरूले खोपको प्रभावकारिता माथि प्रश्न गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ विरुद्धको खोप विकासका लागि अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न गत साता रुसलाई आग्रह गरेको थियो । डब्लूएचओले क्लिनिकल टेस्टको तेस्रो चरणमा रहेका ६ वटा खोपबारे जानकारी दिएको थियो जसमा रुसी खोप समावेश नरहेको बीबीसीले जनाएको छ । अन्तिम चरणमा ठूलो संख्याका मानिसमा यसको परीक्षण गर्नुपर्ने हुन्छ । अमेरिकी जनस्वास्थ्यविद् डा.एन्थनी फाउचीले रुस र चीन कोभिड–१९ विरुद्धको खोप छिटो ल्याउने होडमा रहेकाले परीक्षणमा गत महिना शंका व्यक्त गरेका थिए ।
डब्लूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमेयरले गत साता एक पत्रकार सम्मेलनमा कुनै अनुसन्धानकर्ताले नयांँ कुरा पत्ता लगाएको दाबी गर्नु आफैंमा सुखद समाचार भएको बताएका थिए । ‘तर पत्ता लगाउनु वा खोपले कसरी काम गर्छ भन्ने थाहा पाउनु र सबै चरणका परीक्षण पार गर्नॅमा ठूलो भिन्नता छ,’ उनको भनाइ थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप निर्माणमा विभिन्न देशका वैज्ञानिकहरू जुटिरहेका छन् । बीबीसीका अनुसार एक सयभन्दा बढी खोप परीक्षणका क्रममा छन् । तीमध्ये केही क्लिनिकल परीक्षणमा छन् । तर विज्ञहरूले सन् २०२१ को मध्येयता कुनै पनि खोप सर्वसुलभ हुनेमा शंका व्यक्त गर्दै आएका छन् ।
कोभिड–१९ प्रभावित मुलुकहरूको सूचीमा रुस चौथो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार साँझसम्म रुसमा भाइरस संक्रमितको संख्या ८ लाख ९५ हजार नाघेको छ । रुसमा भाइरसका कारण १५ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५० लाख ९७ हजार नाघिसकेको छ । १ लाख ६३ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । यस्तै ब्राजिलमा ३० लाख ५७ हजार र भारतमा २२ लाख ६८ हजार जना संक्रमित भइसकेका छन् । भाइरसको संक्रमणका कारण ब्राजिलमा १ लाख १ हजार ७ सय र भारतमा ४५ हजार २ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
