आँखा पाक्नु कोभिड– १९ को लक्षण हुनसक्छ !

डा. अविनाशकुमार झा
२०७७ असार २०, शनिबार १५:२२
file photo

कोभिड–१९ का बिरामीमा विभिन्न लक्षण देखिन सक्छन्। ज्वरो आउने, हातखुट्टा दुख्ने, थकान बढी लाग्ने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने कोभिड–१९ संक्रमितमा देखिने मुख्य लक्षण हुन् ।

तर, आँखा पाक्नु मात्रै पनि कोभिड–१९ को लक्षण हुने तथ्य पत्ता लागेको छ। अमेरिकन एकेडेमी अफ अपथ्याल्मोलोजी (एएओ) मा प्रकाशित एक अध्ययन अनुसार आँखा पाकेका ५ जना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको थियो। उनीहरुमा आँखा पाक्नु बाहेक अरु कुनै पनि लक्षण देखा परेको थिएन।

ती व्यक्तिमा आँखा रातो हुने, आँखाबाट पानी बग्ने, आँखाबाट कचेरा आउने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखा परेका थिए। उनीहरुलाई कन्जंक्टिभाइटिसको लाइनमा उपचार गरिएको थियो। तर लामो समयको उपचारपछि पनि निको नहुँदा कोरोनाको शंका गरिएको थियो।

बिरामीसँग ट्राभल हिस्ट्री अथवा कुनै कोरोना पोजिटिभ भएको मान्छेको सम्पर्कमा आएरनआएकोबारे प्रश्न गरिएको थियो। उत्तर दिने क्रममा सबै जना बिरामीले कोभिड–१९ धेरै देखापरेको ठाँउबाट आएको बताए। ती बिरामीमा कोभिड–१९ का अरु लक्षणहरु जस्तैस् ज्वरो आउने, हातखुट्टा दुख्ने, थकान बढी लाग्ने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता कुनै पनि लक्षण देखा परेको थिएन।

उनीहरुको परिक्षणको लागि न्याजोफ्यारिन्जियल स्वाब लिइएको थियो र पिसिआरबाट कोरोना लागेको पुष्टि गरिएको थियो। बिरामीलाई आँखा पाकेको पूरै निको नभएसम्म सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको थियो। यो अध्ययन इटालीमा गरिएको थियो।

हुन त यो अध्ययनको स्याम्पल साइज सानो छ। तर यस अध्ययनले कोभिड९१९ का असाधारण लक्षणहरु पनि हुन सक्छन् र यस्ता बिरामी आउँदा कोभिड–१९ को शंका गरी जाँच गराएर कन्फर्म गर्नु उपयुक्त हुने बताएको छ। अहिलेसम्म मानिसको आँखामा कन्जंक्टिभाइटिस मात्र एउटा कोरोनाको लक्षण भनेर देखा परेको छ।

हाम्रो आँखा कोरोना भाइरस शरीरभित्र छिर्ने ठूलो माध्यम हो। त्यसै कारण भाइरस शरीरभित्र जानबाट रोक्न स्वास्थ्यकर्मीले आँखाको सुरक्षा गर्न आवश्यक छ।

अहिलेको सन्दर्भमा कुनै पनि बिरामी जाँच्दा अथवा बिरामीको सेवा गर्दा आँखा छोप्नेगरी चस्मा लगाउनु अथवा फेस शील्डको प्रयोग गर्नु आवश्यक छ। कुनै व्यक्तिको आँखा पाकेमा अथवा रातो भएमा तुरुन्त नजिकको आँखा अस्पताल गई नेत्ररोग विशेषज्ञको सल्लाह र परामर्श लिनु आवश्यक छ।

(डा झा नेत्ररोग विशेषज्ञ हुन्।)
यो समाचार हामीले स्वास्थ्य खबर डटकमबाट साभार गरेका हौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*