थाहा पाउनुहोस्ः आँखा पाक्ने रोगबाट कसरी बच्ने ?

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार १७:४५
file photo

हेटौंडा । पछिल्लो समय आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । स– साना उमेरका बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ । आँखा पाक्ने रोगका कारण कतिपय स्थानमा अध्ययन अध्यापन कार्य समेत प्रभावित बन्न पुगेको छ ।

आँखा पाक्ने रोगबाट कसरी जोगिने भनेर धेरैलाई चिन्ता भइरहेको छ । सरसफाइमा ध्यान दिन सके यसबाट जोगिन सकिने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुसँगको सल्लाहमा आँखा पाक्ने रोगबाट बच्ने उपायहरु यहाँ उल्लेख गरिएको छ ।

आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्ने छ । किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ । यी सबै गरिसकेपछि हात धुँदा संक्रमण हुने जोखिम न्यून हुन्छ । त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ ।

आँखा पाकेको छ भने त्यस्ता व्यक्ति निको नभएसम्म छुट्टै कोठामा सुत्नु राम्रो हुन्छ । यसो गर्दा संक्रमित व्यक्तिको घरका अरु सामानसँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन र सर्ने सम्भावना कम हुन्छ ।

आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ । यसबेला आँसु बगिरहने र कचेरा आइरहने भएकाले मुख धुँदा ती आँसु र कचेरा पखालिन्छन् । जसले अरुलाई सर्ने सम्भावना न्यून हुन्छ । तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन । यसले संक्रमण बढ्न सक्छ ।

आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नुपर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । आँखा पाकेमा चिकित्सकलाई जाँच गराएर एन्टिबायोटिक लगाउन सकिन्छ । दिनको तीनदेखि पाँच पटकसम्म यसलाई लगाउन सकिन्छ ।

आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन । सकेसम्म घरमै बस्दा उचित हुन्छ ।