कसलाई बौद्धिक मान्ने ?

बुद्धिप्रसाद नेपाल / दक्षिण कोरिया
२०७७ जेष्ठ २०,मंगलवार २२:४०

कसलाई बौद्धिक मान्ने ?, कुन आधारमा मान्ने या छुट्याउने ?, बौद्धिकता छुट्याउने कुनै गतिलो आधार छ ? या कुनै निकायले तपाई बौद्धिक व्यक्तित्व हुनुहुुन्छ भनेर प्रमाणपत्र दिने गरेको छ ? यी प्रश्नहरु गरिरहँदा तपाईलाई अचम्म लाग्ला तर आफुलाई बौद्धिक वर्ग भन्दै प्रचार गर्ने तर मानविय चेतना गुमाउँदै गएका केही त्यस्ता व्यक्तिहरुको कारण आम नागरिकहरुमा बौद्धिक वर्गप्रतिको विश्वास घट्दै गइरहेको छ । अझ भनौँ समाजमा नकारात्मक असर पैदा भइरहेको छ ।

जो सच्चा बौद्धिक व्यक्ति हो उसको विचार, धारणा वा योजना सुन्न सक्ने क्षमता नेपाली समाजका नागरिकहरुमा कमै मात्रामा पाइन्छ । सत्य–तथ्य सूचना सम्प्रेषण गर्ने मिडिया र पत्रकारिता क्षेत्र पनि यस विषयमा कहिलेकाँही चुकेको देखिन्छ । सहि या गलत त्यसको मूल्याङ्कन नगरी समाचार प्रकाशन / प्रशारण गर्दा त्यसको असर समाजमा कस्तो पर्छ भन्नेबारे केही मिडिया र मालिकहरुले बुझ्ने चेष्टा गरेका हुँदैनन् ।

पछिल्लो समय हाम्रो समाजमा स्व घोषित बौद्धिक वर्गको समूह ठूलै भइसकेको छ । विभिन्न संघसंस्था, नागरिक अगुवा, नागरिक समाजलगायत नाम दिएर बौद्धिकता प्रदर्शन गर्न खोज्ने समूहको कमी देखिँदैन । अनि यस्तै व्यक्तिहरु नेपाली मिडियाको अग्रभागमा देखिन्छन् । बौद्धिक वर्गको खोल ओडेर समाज दुषित पार्न तल्लिन केही त्यस्ता व्यक्तिहरुको धारणा मिडियामार्फत् जनतासम्म पुग्ने गर्छ । जसको कारण समाज नकारात्मकतातर्फ धकेलिएको देखिन्छ ।

जनताले पनि मिडियामा आएका बौद्धिक वर्ग भनिनेहरुको बौद्धिकता जाँच गर्ने प्रयास गरेको कमै मात्र देखिन्छ । उनीहरुको विभिन्न स्वार्थसंग गाँसिएको प्रतिक्रिया सुनेर आफ्नो धारणा निर्माण गर्ने स्तरका नागरिकहरु धेरै छन् । सौरव, डाकटर सुरेन्द्र केसी, खगेन्द्र संग्रौला, सिकेलाल यी नामहरु प्रतिनिधि हुन् । यस्ता नामहरु नेपाली मिडियामा धेरै सुन्न वा देख्न पाइन्छ । धेरै विषयमा मिडियाले बहसका लागि उनीहरुलाई नै बोलाउने गरेको देखिन्छ । उनीहरुले गरेको विश्लेषण नागरिकले कति सहि या कति गलत मुल्याङ्कन पनि गर्दै आएका छन् ।

नेपाली समाजमा विरोध गरेपछि बौद्धिक वर्गमा परिन्छ भन्ने एउटा नकारात्मक सोच हावी भएको देखिन्छ । बौद्धिक वर्ग भनिनेहरुले सकारात्मक रुपान्तरका लागि कुनै रचनात्मक सुझाव दिने गरेको देखिँदैन । उनीहरुमा कुण्ठामात्रै छ कि विरोधमात्रै गर्नुपर्छ भन्ने ।

डाक्टर युवराज संग्रौलाहरु जस्तो बिद्धान व्यक्तिहरुलाई सरकारले उहाँको विचार मनन नगर्दा पनि सबै विद्धान एकै हुुन् की भन्ने भइसकेको छ । डाक्टर संग्रौला जस्तो स्पष्ट विचार सिद्दान्त भएको विद्धान वर्गलाई ती स्व घोषित बौद्धिक वर्गले रुचाउने कुरै भएन ।

पछिल्लो समय व्यापारी नेता वा पहुँचवालासंगको तस्वीर सामाजिक सञ्जालमा राख्न पाउँदा ठूलो उपलब्धी भएको ठान्ने बौद्धिक वर्गहरु पनि देखिन्छन् । केही महामारीको समयमा पनि मजाक गर्दैछन् । उदाहरणको लागि अहिले देखिएको कोरोना टेष्टलाई लिन सकिन्छ । कोरोना टेष्ट गरेपछि रिपोर्ट नेगेटिभ आएको भन्दै फेसबुकमा उल्लास मनाउनेहरु पनि छन् । उनीहरुको उल्लास देख्दा लाग्छ, कोरोनाको संक्रमण जीवनमा एकपटक नभएको पुष्टि भएपछि जीवनभर कहिले पनि संक्रमण हुँदैन । तर वास्तवमा त्यसो होइन नागरिकमा भ्रम सिर्जना भइरहेको छ । कोरोना टेष्ट गरेको फोटो सामाजिक सञ्जालमा राख्दैमा सुरक्षित भइँदैन भन्ने सोचको विकास गरी आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरुको उचित प्रयोग गर्ने, सरसफाइमा ध्यान दिनेतर्फ सबै सचेत हुनु आवश्यक छ ।

तुलनात्मकरुपमा विश्वका विभिन्न मुलुकहरु भौतिक विकास, नागरिक चेतनालगायतका हिसाबले नेपालभन्दा अग्र भागमा छन् । तर त्यहाँ नेपालमा जस्तो बौद्धिक वर्ग देख्न पाइँदैन । अनावश्यक विवाद, विरोध र खुट्टा तान्ने प्रवित्ति विकसित मुलुकहरुमा कमै मात्र देखिन्छ ।

राजनीति गर्न नेताहरुले कोरोना टेष्ट गरेको फोटो राखेर आम नागरिकलाई अपमान गर्दै आफुमात्र यो देशको नागरिक र माथिल्लो वर्गको हो भन्ने जस्तो व्यवहार गरिरहेका छन् । नेपाली समाजका बौद्धिक वर्गमा शक्ति र नेताले प्रयोग गरिदिए हुन्थ्यो भनेर तयार भएर बस्ने एक समूह छ । राजनीति गर्न, नेताहरुको रोजाइमा पर्न उनीहरु जस्तोसुकै अफवाह फैलाउन पनि तयार हुन्छन् ।

समय अनुकुल उनीहरुमा नयाँ विषयहरु संसारबाट खोजेर त्यसलाई लेपन गरेर ती नेता र उनीहरुका आशेपाशेलाई खुुशी बनाउन आफ्नो बौद्धिकता के हो भन्नेसम्म बिर्सिएका हुन्छन् । बौद्धिक वर्गको एउटा विचित्रको अबौद्धिक चरित्र छ । आँखै अगाडि आफ्ना बौद्धिक मित्रहरुको मुर्खाइँ देखेर पनि नदेखेझैँ गर्छन् । सहि र गलत थाहा हुँदा हुँदै पनि आफ्नो नेताको विरुद्ध बोल्दैनन् । सहयोगी आलोचना गर्दैनन् । किनकी आलोचना सजिलै कसैले लिदैनन् । सिधै घमण्डमा लिन्छन् । जब बौद्धिक वर्गले हरेक विषयलाई इगोको रुपमा लिने गर्दछन्, तब उनीहरुले क्रोधले आँदा देख्दैनन् । सहि र गलतको मर्यादा बिर्सन्छन् र तल्लो स्तरको समाजमा सजिलै ग्रहण गर्न नसक्ने अभिव्यक्ति दिँदै हिड्ने गर्दछन् । त्यो पनि मिडियाको माध्ययमबाट । बौद्धिक वर्ग मानिनेहरु र मिडियाको अचम्मको सम्बन्ध देख्न पाइन्छ । जसले नकारात्मक बढी बोल्ने गर्छ । समाजलाई गलत मार्गतर्फ मात्रै गएको देख्छ , हो त्यही बौद्धिक भनिने पात्र मिडियाको रोजाइमा पर्छ । बौद्धिक वर्गमा आफैँमा बौद्धिक छैन । सैद्दान्तिक अडान र नीति छैन ।

उनीहरुको झुकाव सार्थमा सोझिने खालको छ । अघिल्लो पटक कुनै मिडियामा आफैँले बोलेको विषयलाई लाजै नमानी आफैँ प्रतिबाद गर्ने , सक्ता र शक्तिसंग आफु संघैभरी सन्तुलनमा रहन खोज्ने र आफ्नो मात्र फाइदा खोज्ने बौद्धिक वर्गबाट नेपाली नागरिकले के अपेक्षा गर्ने ?
आलोचना लिन नसक्ने र आलोचना गर्न खोज्नेलाई सिध्याउन खोज्ने र निरन्तर सिकाइको अभ्यास नगर्ने प्रवित्तिका बौद्धिक वर्गले हामीलाई राक्षशी घमण्ड भएका बौद्धिक लिलिपुटहरुको जमात बनाएको छ ।

वास्तवमा बौद्धिक हुन सुझाव स्विकार गर्न सिक्नुपर्छ र सिकाउनुपर्छ । बौद्धिक वर्गले आफ्ना कुरालाई कसैले तर्फ दिएर गलत भन्दा किन होइन भनेर प्रश्ट्याउन आउने आत्मविश्वास राख्दछ । तत्थ्य र तर्कसंगत खण्डनको अगाडिमात्र शिर झुकाउँदछ । बौद्धिक वर्ग भनिनेहरुले दिने जायीय लैगिंक भाषिक विभिन्न अभिव्यक्तिले गर्दा हामीले नसोचेका घटनाहरु समाजमा दिनप्रतिदिन घट्दै आइरहेको छ ।

बौद्धिक वर्ग भनेर चिनिनेहरुले हजारौँ किताबहरु पढेका होलान्, अनेक सेमिनारमा भाग लिएका होलान्, दर्जनौँ सम्मान लिएका होलान्, धेरै विषयमा डिग्री हाँसिल गरेका होलान् तर उनीहरुले किन आफ्नो जिम्मेवारी बुझ्दैनन् ।

नेपाली नागरिकहरु यस्तै बौद्धिक भनिने वर्गले हिँडाएको बाटो हिड्न बाध्य छन् । जब बौद्धिक नै गलत बाटोमा अघि बढ्दैछन् भने अबको पुस्तामा देखिने बौद्धिक वर्गले कस्तो बाटो अवलम्वन गर्छन् होला ? हरेक दलभित्र पनि केही बौद्धिक मानिने वर्ग समूह छ तरपनि उनीहरु राजनीति भन्दा बाहिर निस्किएर केही बोल्न सक्दैनन् । सबै मिलेर समाजलाई सही मार्गतर्फ अघि बढाउने प्रयास गर्यौँ भने हाम्रो सुन्दर देशमा हामी सहि बौद्धिक हुन लामो समय लाग्दैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*