कोभिड – १९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता

दामोदर न्यौपाने / नुवाकोट
२०७७ जेष्ठ ११,आईतवार २१:२५

कोभिड– १९ को महामारीको कारण लकडाउनको अवस्थामा हामी सबै नेपालीहरू आ–आफ्नै घरमा छौँ । यो लेखमा बुद्धले मानव जगतलाई दिनु भएको चार आर्य सत्यहरू, पञ्चशिल र अष्टाङ्गिकमार्गहरूको यो विषम परिस्थतिमा सान्दर्भिकतालाई विश्लेषण गर्न खोजिएको छ । बुद्धका उपदेशहरू आफ्नो साथका रहेका केही साधुहरूलाई दिएका थिए । जुन गुरू शिष्य परम्पराबाट आजको दिनसम्म आएको मानिन्छ । मोक्ष प्राप्तीको लागि हिन्दु शास्त्रमा तीन मार्गको वर्णन गरिएको पाईन्छ । जसमा ज्ञान, भक्ति र कर्म मार्ग हो । बुद्ध दर्शनमा ज्ञान र कर्मलाई जोड दिएको पाईन्छ ।

बुद्ध भन्नाले त्यो व्यक्ती जसले चेतनाको उच्चतम अवस्था प्राप्त गरेको हुन्छ । वुद्ध्त्व प्राप्त व्यक्तिले प्राप्त गरेको ज्ञान उसको नीजि हुँदैन । उसले यही समाजमा रहेर ज्ञानआर्जन गरेको हुन्छ । उसले त्यसको बदलामा आफुमा भएको ज्ञान समाजका व्यक्तिहरूलाई बाँढ्ने गर्दछ । त्यस्तै बुद्धले पनि गरे जुन हामी माझमा उपदेशको रूपमा प्राप्त छ । बिना गुरु स्वयंको प्रयासबाट बुद्धत्व प्राप्त गर्ने महामानवहरूलाई सम्यक संबुद्ध भनिन्छ । गौतम बुद्धभन्दा अघि अनेक त्यस्ता सम्यक संबुद्धहरूले यस धारामा पदार्पण गरिसकेको र भविष्यमा पनि त्यस्ता अनेकौं सम्यक संबुद्धहरू प्रकट भई दुःख निवारणको लागि जनमानसलाई ज्ञानको बाटो देखाउँने बिश्वास लिइन्छ । बुद्ध धर्मको परम्परामा गौतम बुद्धलाई यो युगको चौथो सम्यक संबुद्धको रूपमा लिने गरिन्छ । बौद्ध धर्ममा तीन मुख्य वाद (यान) हरू रहेका छन् : थेरवाद (पहिला हिनयान भनिन्थ्यो), महायान र वज्रयान । विश्वको चौंथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको बौद्ध धर्मका अनुयायीहरू पैंतीस करोड भन्दा अधिक रहेको अनुमान गरिन्छ ।

बुद्ध धर्मको अन्तिम लक्ष्य दुःखबाट सदाका लागि मुक्ति पाउनु हो । बुद्दले आफ्नो प्रवचनहरूमा पञ्च शिललाई जोड दिनुभएको पाईन्छ । पञ्च शीलको पालना गर्दै ध्यानद्वारा समाधिष्ठ हुँदै प्रज्ञा (ज्ञान) उत्पन्न गराउन सकेमा नै दुःख मुक्तिको अवस्था निर्वाणको साक्षात्कार हुन्छ भन्ने उनको मूल शिक्षा हो । बुद्ध धर्म ज्ञानको आधारमा बनेको हुनाले यो प्रयोगात्मक छ । यसमा भएका अपदेशहरू हामीलाई यो लकडाउनको समयमा दुःख निवारणको लागि सान्दर्भिक हुनेछन् भन्ने विश्वासका साथ यो आलेख तयार पारिएको छ ।

चार आर्य सत्य र अहिलेको लकडाउन

गौतम बुद्धले मनुष्य जीवनलाई अत्यन्त गहन रूपमा अध्ययन गर्नु भएको पाईन्छ । अध्ययन मात्र नभएर जोसुकै मानव पनि कसरी
जीवनयापन गरेर सफल हुनसक्छ, बुद्धत्व प्राप्त गर्न सक्छ भनेर प्रयोगात्मक ज्ञान विश्व समाजलाई दिएर जानु भएको छ । त्यस्तो महान ज्ञानले यो धारालाई सिंचन गर्न सफल बुद्धले शरीर छोडेर गए पनि उनको विचारधाराहरू कालजयी छन् । यो लेखमा बुद्धका चार आर्य सत्य र अष्टाङ्गिक मार्गलाई अहिलको ब्यस्त समाजले कसरी आत्मसाथ गर्न सक्छ अनि यो लकडाउनमा आ–आफ्नै घरमा रहेको अवस्थामा कसरी त्यसबाट फाईदा लिन सकिन्छ भनेर समेट्ने प्रयास गरिएको छ ।

पहिलो– दुःख हुन्छ :

यस दुनियामा सबै मनुष्यहरू र सजिव प्राणीहरूलाई दुःख हुन्छ भनेर बुद्धले भनेका छन् । उनले कस्तो–कस्तो अवस्थामा मनुष्यलाई दुःख हुन्छ भनेर पनि स्पष्ट रूपमा भनेका छन् । मनुष्य जन्मनै दुःखले हुन्छ । जन्मदा हुने दुःख देखि सुरू भएर मान्छे बुढो हुँदा, आफ्नो मन परेको व्यक्ति प्रियजनको बिछोडमा, आफ्नो चाहना गरेको चीजबस्तु प्राप्त नहुँदा र रोग लाग्दा दुःख हुन्छ । अहिले विश्व जगत नै कोरोना भाईसर रोगको कारणले गर्दा दुःखमा छ ।

दोस्रो– दुःखको कारण हुन्छ :

मनुष्यलाई हुने हरेक दुःखहरूको विशेष कारण हुन्छ । बुद्ध धर्म वा दर्शनले पूर्व जन्ममा विश्वास राख्दछ । मनुष्यले कुनै जन्ममा चाहना गरेको ईच्छा र चाहनाहरू सोही जन्ममा पुरा हुन सकेन भने अर्को जन्म लिनुपर्ने हुन्छ । जन्मको समयमा दुःख हुन्छ । मनुष्यले आवश्यक भन्दाबढी अधिक चाहना राख्नु र उसमा हुने तृष्णानै हरेक प्रकारका दुःखका कारण हुन् । अहिले मानव जगत रोग महामारीको कारणले दुःखी छ । खप्तड बाबाको विचार बिज्ञान अनुसार मनुष्यको विचार र कल्पना शक्ति बिजुली भन्दा पनि तेज गतीमा चल्छ । उसले विचार र कल्पनाको भरमा अहिलेको बैज्ञानिक सुख सुविधाका चिज बस्तुहरू र आविष्कारहरू सम्भव भएको हो ।

बिज्ञानको आविष्कारसँगै विनासका सम्भावनाहरू पनी उत्तिकै बढ्दै गएका हुन्छन् । मनुष्यमा भएको अलौकिक बिचार तथा क्षमताको कारण मनुष्यले कतै आफुलाईनै दुःख हुने कार्यहरू त गरिरहेको छैन ? यो प्रश्नको उत्तर हामी आफैँले खोज्ने समय आएको छ । हामी अहिले दुःखी छौँ । कारण कोरोना भाईरस रोगले श्रृजना गरेको महामारी र लकडाउन । के कारणले यो रोगको सामना गर्नु परिरहेको छ त भन्ने कुरामा चर्चा गर्नुभन्दा अब हामी कसरी दुःखबाट छुटकारा पाउन सक्छौँ भनेर अर्को आर्य सत्यमा चर्चा गरिन्छ ।

तेस्रो– दुःख निरोध हुन्छ :

मनुष्यको दुःख चिरस्थायी हुँदैन मानवले लोभ लालच (तृष्णा) बाट मुक्ति पाएमा दुःख हटाउन सक्दछ । मानव जगतले विभिन्न काल खण्डमा विभिन्न दुःखको सामना गर्दै आईरहको छ । हरेक दुःख लामो समयसम्म रहँदैन र सुख पनि रहँदैन । यहाँ सँस्कृतको एउटा श्लोक चर्चा गर्न सान्दर्भिक छ । ‘‘सुख सुख्यान्तरम् , दुःख दुख्यान्तरम्, सुख दुःख मनुश्याणाम चक्रवर्त परिवर्तते ।’’अर्थः केही समय सुख हुन्छ, केही समय सुख हुन्छ, सुख पछि दुःख र दुःख पछी सुःख चक्र जस्तै परिवर्तन भईरहने प्रक्रिया हो त्यसैले हरेक दुःख चिरस्थायी हुँदैन भनेर बुद्धको तेस्रो आर्य सत्यले भन्छ । आशा र धैर्यता राखौं यो कोरोनाको दुःख निवारण भएर अवस्य जान्छ । दुःखबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने बारेमा चौथो आर्य सत्यमा वर्णन गरिन्छ ।

चौंथो– दुःख निरोधको मार्ग हुन्छ :

लोभ–लालच तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गको अनुसरणबाट जीवनयापन गर्दा दुःखबाट पार हुन सकिन्छ भनेर बुद्ध धर्ममा वर्णन गरिएको छ । अहिलेको यो महामारीको विषम परिस्थितिमा हामिले दुःख निवारण गर्ने मार्ग कुन–कुन हुन सक्छ भनेर खोजि गर्नुपर्ने अवस्था छ । अहिले विश्व मानव जगत दुःखमा छ र हरेक मानवले यो यो दुःखबाट मुक्त हुन चाहना गरेको छ । हामीले गर्दै आईरहेको नियमित कार्यहरूमारमाउने अनि चेतना र बिवेकद्वारा यो दुःख चिरस्थायी हैन भन्ने विचार गरी अष्टागं मार्गको अनुसरण गर्ने र पञ्चशीलको पालना गर्ने हो भने सजिलै दुःखको निवारण हुन्छ ।

हालको लकडाउन र बुद्धको पञ्चशील

बुद्धका उपदेशहरूमा पञ्चशीलको ठूलो महत्व छ । उनले मनुष्यले जीवनमा के– कस्ताकुराहरू गर्नु हुँदैन वा त्यस्ता कुराहरूबाट टाढा रहनुपर्छ, भनेर पाँचवटा शीलहरू उपदेशको रूपमा दिएका छन् ।

पञ्चशीलको पालनाले मानव बलशाली हुनेछ । कसैले पनि अर्काको हातबाट मर्नुपर्ने छैन । परिवारमा शान्ती र अमनचयन कायम हुनेछ । कोही पनी रोगको शिकार हुनुपर्ने छैन रोग व्याधीको कमी हुनेछ । मन परेका व्यक्तीहरूबाट वियोगः हुनपर्ने छैन र मनुष्यहरू दीर्घजिवी हुनेछन् भन्ने बिश्वास लिईन्छ ।

पहिलोः प्राणी हिंसाबाट टाढा रहने

पहिलो शीलले प्राणीको हिंसाबाट टाढा रहने उपदेश दिन्छ । यसको अर्थ हिंसा नगर्ने भनेर मात्र पुग्दैन हिंसाजन्य कुराहरूबाटनै टाढा रहने भन्ने हुन्छ । यो लकडाउनको अवस्थामा हामीले जनावरहरूको हत्या गरी मांशाहार नगर्दा पशुजन्य रोगहरूबाट बच्न सकिन्छ । मनुष्यले हिंसा नगर्दा सधैं शान्ति हुने गर्दछ । परिवारमा हुने बिभेदहरू समेतबाट टाढा रहन यो शीलले अभिप्रेरीत गरेको छ । यो शीललाई आत्मसाथ गरी यो बन्दाबन्धीको समयमा हामी सुखी र शान्त रहन सक्छौँ ।

दोस्रो : झूठो नबोल्ने

दोस्रो शीलले हामीलाई झूठो बोल्नबाट टाढा रहन अभिप्रेरीत गर्दछ । हामी सँधै राम्रो परोपकारी काम गर्ने बानी बसाल्दै जाने हो भने झुटो बोल्नुपर्ने अवस्थानै आउँदैन । भनिन्छ नी एक झुठलाई सिद्ध गर्नको लागि सय वटा झुठहरूको सहारा लिनुपर्ने हुन्छ । यसरी झुठ माथि झुठ थपीदैं जाँदा झुठै झुठको संसार निर्माण हुन्छ । अहिले सञ्चार र प्रविधिको युग छ । हामीले अहिले झुठा र कपोल कल्पीत समाचार र अफवाहरूको पछाडी नलाग्ने वा त्यस्तो झुठो कुराहरूबाट टाढा रहने साथै विश्वसनीय स्रोतको सूचनाहरू मात्र लिनु राम्रो हुन्छ ।

तेस्रोः चोरी नगर्ने

बुद्धको तेस्रो शीलमा चोरी नगर्नु भनीएको छ । अहिले विश्व मानव जगतनै त्राहीमामको अवस्थामा छ । यस्तो अवस्थामा पनि केही संकुचित मानसिकता भएकाहरूले कुनै न कुनै तरीकाले चोरी गरीरहेको पाईन्छ । कृतृम अभाव श्रृजना गरेर सर्वसाधारणको दैनिक गुजारामा समस्या ल्याउने जस्ता अमानवीय कार्यहरू रोक्नकोलागि सबैले बुद्धको तेस्रो शीलको पालना गर्नु अत्यन्त सान्दर्भिक देखिन्छ ।

चौंथोः व्यभिचार नगर्ने

पञ्चशील मध्येकै सबैभन्दा धेरै व्यक्तिहरूले पालना गर्न कठीन शीलको रूपमा यो शीललाई लिईन्छ । कायीक, बाचीक र मानसीक तीन थरीका व्यभिचारहरू हुने गर्दछन् । कायीक भनेको शारीरीक रूपमा परपुरूष तथा परस्त्रीसँग गरीने यौनजन्य क्रियाकलाप तथा हिंसा हो । बाचीक भन्ने शब्दद्वारा गरिने यौनजन्य व्यवहार तथा हिंसालाई लिईन्छ त्यस्तै गरी मानसिक भन्नाले कुनै पनि परपुरूष वा परस्त्रीप्रति मानसीक रूपमा हिंसात्मक कार्यहरू गर्नुलाई संकेत गर्दछ । कोरोनाको कारण अहिले एक अपसमा हात मिलाउनुको सट्टा नमस्कार गर्ने, सामाजिक र भौतिक दुरी कायम राख्नुपर्ने अवस्था श्रृजना भएको छ । हामीले बुद्धको यो चौंथो शीललाई जीवनमा लागु गर्दा यस्तो अवस्थामा सान्दर्भिक हुने देखियो ।

पाचौः मध्यपान नगर्ने

बुद्धले पाचौं शीलमा मध्यपान पूर्णरूपमा बर्जीत गरेका छन् । यसमा रक्सी मात्र नभई त्यस्तो पदार्थ जसले हाम्रो शारीरीक तथा मानसीक दुवै अवस्थालाई नकारात्मक असर पार्दछ त्यसता कुराहरू सबैलाई मध्यपानमा राखिएको छ । मादक पदार्थले केही क्षण हामीलाई आनन्दको आभाष गराउने भएतापनि चिरस्थायी शान्तीको लागि मध्यपान बाधकको रूपमा लिईन्छ । समुदायमा कतिपय मानीसहरूको जायजेथा सबै मध्येपानमा सकिएर हरी कंगाल भएको उदाहरणहरू पनी समय समयमा सुन्न र देख्न पाईन्छ । त्यसैले यो लकउनको समयमा जाँड रक्सी जुवातास जस्ता कुलतहरू त्यागी सम्यक सत्मार्गमा लाग्दै योगः, ध्यान, प्राणायाम, हठयोग (व्यायाम) आदि गरी शारीरीक र मानसीक रूपमा तन्दूरूस्त हुनु जरूरी र सान्दर्भिक देखिन्छ ।

अष्टाङ्गिकमार्ग र बन्दोबन्दी :

अष्टाङ्गिक मार्गमा बुद्धले सम्यकलाई जोड दिनु भएको छ । यहाँ सम्यक भन्नाले बीचको मध्येमार्गी भन्ने हो । अष्टाङ्गिक मार्गमा कुनै पनि कार्यहरू गर्दा समभाव राखेर गर्ने कुरालाई बढी जोड दिईएको छ । बुद्धले देखाएका यी आठवटा मार्गहरूमा हामीले अहिलेको वन्दाबन्दीको समयमा कसरी लाभ लिन सक्छौँ भनी चर्चा गर्न खोजिएको छ । हामीले अहिलेको अवस्थालाई सहर्श स्वीकार्नुपर्ने अवस्था आएको छ । आफ्नो धारणा वा बिचार नराखी मध्येमार्गी भएर परिस्थितिको पारख गर्ने जीवनको एउटा अद्भूत कला बुद्धको अष्टाङ्गिक मार्गले बहुत सुन्दर तरीकाले सिकाउँछ । अष्टाङ्गिक मार्गहरू एकदम शिलशिलेवार रूपमा रहेको छ । मनुष्यले पहिलो मार्ग पार नगरी दोस्रो मार्गमा प्रवेश गर्न सक्दैन । सफल मानिसहरूको दृष्टीकोण र एउटा असफल मानिसको दृष्टीकोणलाई तुलना गर्ने हो भने धेरै अन्तर पाउन सकिन्छ । त्यस्तै हाम्रो दृष्टीकोण अनुसारको ईच्छा तथा चाहनाहरू पुरा गर्नको लागि संकल्प वा दृढ निश्चय गर्नुपर्दछ । हामीले यो गर्छु भनेर निश्चय नगर्दा सम्म हामीले हाम्रो बोलीमा कावु राख्न सकिंदैन ।

जबसम्म हामीले आफ्नो बोलीमा कावु राख्न सक्दैनौं तबसम्म हामीले उत्कृष्ट कर्म गर्न सक्दैनौं । कर्मनै हामी मनुष्य जीवनको आधार भएकोले हामीले गर्ने सम्यक कर्मले हाम्रो जीवनयापन वा आजीवीका कस्तो हुने भन्ने निर्धारण गर्दछ । सम्यक आजीवीका नहुँदासम्म हामीले ब्यायाम लगायतका आत्मीक कार्यहरू गर्न सक्दैनौं । जबसम्म हामीले सम्यक ब्यायाम गर्न सक्दैनौँ तबसम्म हाम्रो स्मृति पनी चिरस्थायी हुँदैन । चीरस्थायी स्मृति नहुँदासम्म समाधीमा स्थीत हुन सम्भव छैन । यसरी वुद्धले २५६४ वर्ष अगाडि गर्नु भएको ज्ञानको अभिव्यक्ती कालजयी र जीवन्त रहेको पाईन्छ । जुन मार्गहरूले हालको महामारीको समयमा पनि सान्दर्भिकता छ भन्न सकिन्छ ।

पहिलोः सम्यक दृष्टि

सही तरीकाको हेराईलाई सम्यक दृष्टि भनिन्छ । यसको अर्थ हाम्रो लक्ष्यसँग पनि जोड्न्छ । हामीले जीवनमा कस्तो लक्ष्य लिएका छौँ त्यही अनुसारको दृष्टकोण बन्ने गर्दछ । हरेक कुराहरूलाई समान रूपमा हेर्नु वा आफ्नो दृष्टीकोण नबनाई समभावले हेर्नु । जीवनमा आउने सुख, दुःखलाई समान रूपमा हुर्नु नै सम्यक दृष्टी हो । यो लकडाउनको समयमा हामीले हाम्रो दृष्टीकोणमा फरकपना ल्याउनु जरूरी छ । हाम्रो दृष्टी आफैमा केन्द्रीत गरी अनावश्यक हल्ला र अफवाहको पछाडी नलाग्न यो मार्गले निर्देशन गर्छ ।

दोस्रोः सम्यक संकल्प :

जीवनमा संकल्पको धेरै ठूलो महत्व छ । लक्ष्य प्राप्त गर्नको लागि संकल्पको ठूलो हात रहेको हुन्छ । बुद्धले भन्नु भएको सम्यक संकल्प भन्नाले मनुष्य जीवनको दुःखबाट छुटकारा पाउनको लागि दृढ निश्चय गरी संकल्प गरेर अगाडी बढ्नु भन्ने हो । हामी बन्दाबन्दीको समयमा घर बाहीर जादैनौँ, सकेको सहयोगः गर्ने र अरूलाई हानी पुग्ने खालका गतिविधिहरू नगर्ने भनेर दृढ संकल्प गर्नुपर्ने अवस्था छ ।

तेस्रोः सम्यक वाक :

जीवनमा बोली वा वाणिमा पवित्रता तथा सत्यता हुनु अत्यन्त आवश्यक छ । हाम्रो बोलीमा पवित्रता र सत्यता नहुनु नै दुःखको कारण हो । सत्यमेव जयतेः जहीले पनी सत्यको जीत हुन्छ । बुद्धले सत्यतालाई महत्व दिनु भएको छ । त्यसकारण हामीले अहिले सत्य, साँचो र भरपर्दो सूचनाको माध्यमहरूको प्रयोगः गरी नियमित सूचना तथा जानकारी लिनुपर्ने अवस्था छ । अरूसँग सम्पर्क र समन्वय गर्दा पनि जानकारी भएको कुराहरू मात्र गरी बोलीमा संयम्ता अपनाउनु अति महत्वपूर्ण छ ।

चौंथोः सम्यक कर्म

कर्म बन्धन वा कर्मको चक्रबाट छुटकारा पाउनको लागि मनुष्यको आचरण शुद्द हुन जरूरी हुन्छ । मनुष्यको कर्मको आधारमा उसको आचरण निर्भर हुन्छ । अरूको कुभलो हुने कर्म गर्नु भएन । दुराचार, क्रोध र द्वेष भावना त्याग गरेर सम्यक कर्म गर्नुपर्छ । हामी अहीले कतिपय मानिसहरू काम नभएर बसीरहेको अवस्था छ यस्तो समयमा बाहिरको काम गर्न सकिदैन भने आफ्नो आत्मीक उन्नतीको लागि कर्महरू गर्न सक्छौँ । जस्तो की लेखन कार्य, हस्तकलाका कार्यहरू, घरको सरसफाई लगायतका कार्यहरू ।

पाचौः सम्यक आजीवन :

सबैलाई न्याय हुने गरि आफ्नो जीवन यापनगर्नुनै सम्यक आजीवीका हो । यदि हामीले कसैलाई दुःख पुर्याएर, चोरी गरेर, हत्या गरेर वा अन्य कुनै प्रकारले अरूको हानी हुने गरी आफ्नो जीवन चलाउँदछौं भने त्यसको दुष्परिणाम हामी स्वयंले भोग्नुपर्ने हुन्छ । त्यसैले सम्यक जीवीकोपार्जन गर्न जरूरी छ । अझ यो बन्दाबन्दीको समयमा त हामीले तडकभडकको जीवन व्यतित नगरी साधारण जीवनयापन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

छैटौः सम्यक व्यायाम :

यस्तो प्रयत्न वा ब्यायाम जसले जीवनमा शुभको उत्पत्ती र अशुभको अन्त्य गरोस् त्यस्तो कार्यलाई ब्यायाम भनिन्छ । योगः ध्यान लगायतको ब्यायाम जीवनमा निरन्तर रूपमा प्रयास गरीरहनु पर्दछ । यो बन्दाबन्दीको समयमा हामीले केही समय हाम्रो शरीरको लागि दिंदा हाम्रो शरीरमा अप्रत्यासीत रोगहरूले डेरा जमाउन पाउँदैन । बुद्धले दिनु भएको छैटौं मार्गले हाम्रो शरीरको रेखदेख गर्नमा ठूलो सहयोगः पुग्दछ । समय मिलाएर शारीरीक व्यायाम, तथा हठ योगको आसन लगायतका कार्यहरू गर्दा रोगहरू लाग्ने सम्भावना कम हुन्छ ।

सातौः सम्यक स्मृति :

शारीरीक तथा मानसीक भोग बिलासयुक्त कुराहरूबाट आफुलाई टाढा राख्नाले मनमा एकाग्रताको भाव आउँछ । जब हामी कुनै पनि कुराहरूमा एकाग्र भएर लाग्दछौँ हामीलाई त्यसको बानी पर्दछ र हाम्रो मनस्थिती भावना र मन शुद्ध बन्दछ साथै हाम्रो स्मृति पनि चिरस्थायी हुन्छ । हामीले यो बन्दाबन्दीको समयलाई एउटा अवसरको रूपमा लिएर माथि उल्लेख गरीएका छ वटा मार्गहरूको नियमित अभ्यास गर्ने गर्यौं भने हाम्रो मानसीकतामा अवश्य परीवर्तन आउनेछ र हाम्रो स्मृति चिरस्थायी हुनेछ ।

यहाँ शास्त्रको एउटा श्लोक सान्दर्भिक हुनसक्छ । आहार शुद्धो सत्व शुद्धी सत्व सुद्धौ ध्रुर्वस्मृति स्मृति लब्धे सर्व ग्रन्थीनाम् विप्र मोक्षः आहारको शुद्धताबाट हाम्रो सत्य शुद्ध हुन्छ जव मनुष्य सत्यमा अडीग हुन्छ, उसको स्मृती चिरस्थायी हुन्छ । जव चिरस्थायी स्मृतिहरू प्राप्त हुन्छ त्यो व्यक्तीको सबै नराम्रा कुराहरू सकिएर निर्मल हुन्छ र उ मोक्ष हुन्छ ।

आठौःसम्यक समाधि :

उपरोक्त सात मार्गको नियमित र सम्यक अभ्यासले मनुष्यको शरीरलाई निर्मल गरी चित्तको एकाग्रता बढाउँदछ । निरन्तरको एकाग्रताबाट निर्विकल्प प्रज्ञाको अनुभूति हुन्छ । यस्तो पज्ञा वा परम चेतनाको स्थिती नै समाधि हो । समाधि नै मनुष्य जीवनको प्रमुख लक्ष्य हो भनेर बुद्धले भन्नु भएको छ ।

यसरी हेर्दा बुद्धका चार आर्य सत्य, पञ्चशिल र अष्टाङ्गिक मार्ग मनुष्य जीवनमा अतीनै प्रयोगात्मक र कालजयी उपदेश हो भन्न सकिन्छ । हामीले उनका प्रयोगात्मक सुत्र तथा उपदेशहरूलाई यो बन्दाबन्दीको समय साथै निरन्तर हाम्रो दैनिक जीवनमा अभ्यास गरेर अधिक लाभ लिन सक्छौँ ।

 

दामोदर न्यौपाने
बेल्कोटगढी नगरपालिका वडा नं. २, मुक्तीटोल, नुवाकोट

Email: [email protected]


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*