लकडाउनमा समस्या झेल्नेहरुलाई सहयोग गर्दै काँग्रेस नेता पराजुली
मकवानपुर । कोरोनाको संक्रमणबाट बच्न सरकारले दशैभर लकडाउन गरेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनको अवधि एक महिना पूरा भइसकेको छ । लकडाउनमा आर्थिक रुपले विपन्न, असहाय, अशक्तहरुलाई स्थानीय सरकारमार्फत् राहत वितरणको प्रयास भइरहेको छ । विभिन्न स्तरबाट सहयोगहरु हुँदै आइरहेका छन् ।
यतिबेला राजनीतिक दलका नेतृत्व तहबाट जनताले विभिन्न सहयोगको अपेक्षा गरिरहेका छन् । संकटमा नै वास्तविक नेतृत्वको औचित्य पुष्टि हुने गर्दछ । सरकारमा भएका दलहरुबाट पनि जनताले अपेक्षा गरे अनुसारको काम भने हुन सकेको छैन । तर सरकारको प्रतिपक्षमा रहेका दलहरु चाँही महामारीको समयमा के गर्दै छन् त ?
नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली लकडाउनमा आफुहरुले गरिरहेको गतिविधिहरु यसरी सुनाउँछन् ।
लकडाउन सुरु भएको सातादिन भित्रै नेपाली काँग्रेस हेटौँडा उपमहानगरपालिकाको नेतृत्वमा करिब ८ सय विपन्न परिवारलाई दाल चालम, नुन तेल साबुनलगायतका सामग्री वितरण भयो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरु साथै मनहरी, कैलाश,गढी गाउँपालिकाका विभिन्न वडाहरुमा राहतको प्याकेट बोकेर आफैँ पुगेको पराजुली बताउँछन् ।
लकडाउन सुरु भएको साता नबित्दै एकद्वार प्रणाली लागू भयो , त्यसपछि पनि वास्तविक समस्यामा परेर आएकाहरुलाई सहयोग गरिएको पराजुली बताउँछन् । दास्रो चरको राहत स्वरुप ३ सय घर परिवारले आफ्नो नेतृत्वमा राहत पाएको पराजुलीको भनाई छ ।
पार्टीका मकवानपुर सभापति इन्द्र बानियाँको सहयोगमा जिल्लाको अन्य गाउँपालिकाहरुमा पनि गएर गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग उपलब्ध गराउनेदेखि समस्यामा परेकाहरुलाई राहत बाँड्नेसम्मको काममा काँग्रेस सहभागी छ उनले भने ।
पराजुलीले यसबीचमा हेटौँडाको विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्षको अनुगमन गरे साथै आवश्यक सुझावसहित सम्बन्धित निकायलाई खबरदारी गरिरहे ।
मैले राहत वितरणमा आफ्नो व्यक्तिगत र केही साथीहरुको सहयोग लिएको छु हालसम्म करिब ८ लाख बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री मेरो नेतृत्वमा बाँडिएको छ भने लाभग्राहीको संख्या १२ सयको हाराहारीमा छन् – उनले भने ।
विदेशमा भएकाहरुलाई पनि सहयोग
पराजुलीले मकवानपुर घर भएका र अहिले विदेशमा भएकाहरुलाई पनि कोरोनाको महामारीमा सहयोग गरेका छन् ।
मकवानपुर घर भएका र हाल दुबईमा कामदारको रुपमा रहेका १३ जनालाई उनले सहयोग गरेका हुन् । उनीहरु दुबइमा रहेछन्, कम्पनी बन्द भएपछि खानबस्न समस्या भएको मलाई जानकारी भयो ।
मैँले दुवइमा नै रहनुभएका एक जना साथीको सहयोगमा उनीहरुलाई सहयोग गरेँ – उनले भने ।
उनीहरुको १५ दिनसम्म खाने बस्ने व्यवस्था मिलाएको छु आवश्यक परे थप सहयोग पनि गर्नेछु, उनले थपे ।
हेटौँडा उपमहानगरपालिकाले काम गर्न सकेन
पराजुली संकटमा स्थानीय तहहरु गरेका कामप्रति सन्तुष्ट छैनन् । झन् हेटौँडा उपमहानगरपालिकाले त स्रोत र साधन भएर पनि काम गर्न नसकेको उनी टिप्पणी गर्छन् ।
उपमहानगरपालिकाले वितरण गरेको पहिलो चरणको राहत नेकपा लक्षित भएको उनले बताए ।
दोस्रो, तेस्रो चरणमा पनि प्लान नेपालको सहयोगमा राडो नेपालमार्फत् उपमहानगरपालिकाले करिब ५० लाख नगद आफ्ना कार्यकर्तालाई बाँडेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नगद नबाँड्न दिर्नेशन दिएको भएपनि उपमहानगरपालिकाले गैरकानूनी रुपमा नगद वितरण गरेको उनको दाबी छ ।
हेटौँडाका विभिन्न क्वारेन्टाइन कक्ष /आइसोलेसन कक्षहरुको अनुगमन गर्दा पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीहरु उपलब्ध नभएको फेला परेको उनले बताए ।
यहाँका पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीजस्ता जोमिख् लिएर काम गर्नुपर्नेहरुलाई पनि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्न उपमहानगरपालिकाले नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
केन्द्रिय र स्थानीय सरकारले संकटमा घोटला गरे
मुलुक लकडाउनको चपेटामा परेका बेला, कोरोनाको जोखिम् बढिरहेका बेला केन्द्र, प्रदेश र स्थानीय सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको उनको भनाई छ ।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा घोटला गर्ने, कोरोनाको महामारीको बेला घिनलाग्दो राजनीति गर्ने, पार्टीमा शक्ति बाँडफाँडको विषयमालाई प्राथमिकता दिने काममा सरकार भुलेको छ, जनताको समस्या सरकारले सुन्न सकेको छैन । – उनले भने ।
बागमती प्रदेश सरकार यहीँ छ, मुख्यमन्त्री यहीँ छन्, स्थानीय तहका जनप्रतिनिधिहरु पनि छन्, तै पनि हेटौँडामा कोरोना संक्रमणबाट बच्ने गतिलो उपाय अझै सोचिएको छैन । यदी मकवानपुरमा पनि संक्रमण फैलिहाल्यो भने तपाइ हामी सबै मर्न सक्छौँ सरकार सचेत हुनु जरुरी छ उनले भने ।
उनले अघिपछि भोट माग्न जनतासमक्ष पुग्ने अहिले दुखमा लुक्नेहरु प्रति पनि असन्तुष्टी जनाए ।
मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुको पहलमा राजधानी काठमाडौँ लगायतका विभिन्न ठाँउबाट अलपत्र परेकाहरुलाई उद्दार गरिएकोमा पनि उनले खुशी व्यक्त गरे । उनले सम्पूर्ण मकवानपुरवासीलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
जनताको नाममा सम्बोधन गर्दै उनले तु खबरसंग भने लकडाउनको पूर्ण पालना गर्नुहोला, समस्यामा परेकाले सम्पर्क गर्दा हुन्छ म यो पार्टी उ पार्टी, धमर्, पेशा भन्दिन सहयोग गर्न तयार छु ।
