लिलामीमा स्वाभिमान (कविता)

तु खबर संवाददाता
२०७४ कार्तिक ११, शनिबार ११:०१
छवि अनित्य

-छवि अनित्य

गर्लम्मै धरहरा ढल्दा
साला स्वाभिमान किन बाँचिरह्यो ?
कोही छ – एक प्लेट स्वाभिमान किन्ने ?

मलाई बेच्नु छ स्वाभिमान
बजारमा ।

यो बजारमा सबथोक बिक्छ
इमान, जमान पनि
र किन्छ मान्छेले ऐश, आराम
कुनै भव्य महलको पर्खालभित्र
त्यही पर्खालको आडमा
बेच्छिन् एउटी आमाले काँचो मासु
र बदलामा टन्नै पाउँछिन्
लालाबालाको एक पेट खाना !

म देखिरहेछु –
मखन गल्लीदेखि विशालबजारसम्म
के के बिक्दैन यहाँ ?
खाने – नखाने
हुने – नहुने
लाउने – नलाउने
छोप्ने – देखाउने
यो भीडमा शायद बिक्छ स्वाभिमान पनि ।

जबदेखि देखेको छु
देश बन्धकी राखेर गद्दी किन्नेहरु
तबदेखि वाक्क भएको छु यो स्वाभिमान देखि
कतै पाइन्छ भने साट्न
एक प्लेट स्वाभिमानसित एक मुट्ठि माटो
आउनुस् म बेच्न तयार छु मेरो स्वाभिमान ।

माटो रहे
फेरि पनि रोपौँला
गर्लम्मै धरहरा ढल्दा नढलेको
यो स्वाभिमानको बिऊ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*