एसईई परीक्षार्थीलाई कविको प्रश्न : तिम्रो आमाको हत्केला,बाको थाप्लोमा के के छन् ?

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १२:१७
file-photo

एसईई (कविता)
-प्रमोद अधिकारी

प्रिय भाइ बहिनीहरु
परीक्षा हल प्रवेश गर्नुअघि
आफुले पढेका सबै कुराहरु सम्झनू ।

जब उत्तरपुस्तिका तिम्रो हातमा पर्छ
लेख्नु भनेका जति सबै विवरण उल्लेख गर्नू ।

गेटमा उभिएर सर मिसले
तिम्रो शरीर खानतलासी गर्लान्
अन्यथा नमान्नू
दुई ढाइ वर्षपछि जब
अबुधावि, क्वालालम्पुर या अन्य कुनै
एयरपोर्टमा नेपाली राहदानी बोकेर ओर्लनेछौ
अर्थ त्यतिबेला सम्झिने नै छौ ।

देख्दैछु धेरैको निधारमा रातो टीका छ
बा आमाको आशिर्वाद पनि होला शीरमा
मनमा के छ , कुन्नि ?
आँखामा हतास छ ।

प्रमोद अधिकारी

परीक्षा केन्द्र वरिपरि
तैनाथ प्रहरी पनि थुप्रै देख्लाऊ
नडराउनू
यो पटक तिम्रो परीक्षा
मर्यादित बनाउनुछ सरकारलाई
यो मन्त्री परिषद्को निर्णय हो ।

अब तिम्रो हातमा प्रश्नपत्र आइपुगेको छ
तिमीले पढेका अनि पढ्न नभ्याएका
सबै पाठका प्रश्नहरु होलान्
उत्तर लेख्न सुरु गर्नुअघि
सजिलो लागेका जति प्रश्नहरू टिक लगाउदै जानेछौ
असजिलाहरु थाती रहेनछन् यो पटक पनि
यस्तै बानी जो परेको छ ।

प्रिय भाइ बहिनीहरु !
आज तिम्रो परीक्षा हलभित्र
तिमीलाई बर्षौं पढाएका
यत्तिको सक्षम बनाएका सर मिस
तिम्रा अघिल्तिर हुनेछैनन्
उनीहरु निषेधित छन् आज
सरकारलाई विस्वास छैन उनीहरुमाथि
अन्यथा मान्दै नमान्नू
यसको मूल्य तिमीले भोग्नेछौ
भोलि शिक्षक भयौ भने ।

सायद यतिबेला
निर्धारित समय सकिनै लाग्यो होला
प्रिय भाइ बहिनीहरु !
तिम्रो प्रश्नपत्रभन्दा बाहिरको
जसको उत्तर कहि कतै लेख्नुपर्ने छैन
र लेखिहाले पनि कसैले नम्बर दिदैनन्
अन्तमा
यो कविको एउटा प्रश्न छ तिमीलाई
भन त ! यतिका किताब पढिसक्दा
तिम्रो आमाको हत्केला अनि बाको थाप्लोमा के के छन् ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*