रबैया (कविता)

तु खबर संवाददाता
२०७४ मंसिर ५, मंगलवार १३:३२
सिएम रिमाल

पूनः
अङ्कल अङ्कल
तपाईँको नाम…….हो ?
यो औषधी लिएर
आउनुस् है झट्टै
अस्पतालको शैयामा
मृत्युसँग पौँठेजोरी खेलीरहेका
एक बृद्ध झल्याँस्स हुँदै
नियाल्छन् वरिपरि र
हाल्छन् सुस्केरा ।

सेतो कपडा लगाएकीको
दिनचर्या नै
औषधी लेख्ने,
रक्तचाप नाप्ने र गराउने
सबैको जाँच ।

भर्खरकी फुल्दै गरेकी कोपिला
नफुल्दै त यस्ती छिन्
फुलेपछि भमराका ताँतीलाई
धपाउन होलिन् ब्यस्त ।
प्रकृतिले पनि पक्कै न्याय नै
गरेको जस्तो भान भएछ बृद्धलाई ।

घण्टा घण्टामा धमाइदिन्थिन्
औषधीको डङ्गुर र बदलामा
दिएर जान्थिन् एक टृक्रा हाँसो
मृदुभाषी,मृगनयनी,रेशमी कपाल
छिनेको कम्मर हल्लाउँदै
उनी पनि बाध्य थिइन्
नुनकै सोझो गर्न
र बेरोजगारीको भ्वाङ् टाल्न
विकल्पको बाटो थिएन ।
अर्काको बेरोजगारीको स्टीकर
निकाल्न गोजोमा रकम
होस् या नहोस्
गर्नै पर्छ जाँच र
ल्याउनै पर्छ औषधी ।

कसरी ल्याउन ती बृद्धले
जसको घरमा खाना खाने बेला
सधैँ पथ्र्यो रडाको भाँडाहरुबिच
जसको घरमा ओत लाग्न
भित्र छिर्दा तारा गनिन्थ्यो
जसको आङ्मा एक धरो
कपडा लगाउन कुर्नु पथ्र्याे दसैँ
र जसका बालबालिकाहरु
विद्यालयको सट्टा जान्थे गोठालो
के ती बृद्धले बाच्न नपाउने त अब ?
के तिनको इच्छा छैन र
संसार हेर्ने ?
ए,
जनताका पसिनामा
डुबुल्की मार्ने जुकाहरु
कहिलेसम्म चुसिरहन्छौ रगत
अनि,
कहिले बनाउँछौ
लुटमुखी अस्पताललाई
सेवामुखी हँ ?

–सिएम रिमाल
हेटौँडा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*