म नेपाली भाषामा बोल्छु, तर म भारतीय नागरिक हुँ :
मनोज बोगटीको आँखामा भारतको दार्जिलिङको राजनीति र नेपालको राजनीतिका समानता र भिन्नता के हो ?
केही वर्षअघि ‘भारतीय युवा साहिति’-नामको कार्यक्रमको लागि दिल्ली गएको थिएँ। त्यहाँ भनियो, ‘नेपालका कवि मनोज बोगटी।’
पहिले त लाग्यो, उनीहरूले ‘नेपाली भाषी कवि’ भन्न खोजेका हुन्। तर जब फ्लोरमा नै मलाई एक कविले ‘मलाई पनि ‘काठमाडौँ’ हेर्न मन छ’-भनिदिए, तब म निक्कै हदप्रभ बनेँ। मलाई लाग्यो, भारतीय नेपाली कविहरूलाई लिएर ‘दिल्ली’-को बुझाई हो यो। केन्द्रको बुझाई हो यो। मञ्चमा पुगेर मैले उद्धोषकलाई सोधेँ, ‘भारतीय युवा साहिति’-कार्यक्रममा अरू कुन कुन देशको सहभागिता छ?
उनीहरूले कुरा बुझेनन्। निक्कै हल्ला मच्चियो।
उद्घोषकले स्पष्टिकरण दिए। मान्यताप्राप्त भाषालाई प्रतिनिधित्व गर्ने युवा कविहरूको निम्ति हो कार्यक्रम।
अनि मैले सोधेँ, ‘त्यसो हो भने म नेपाल देशको कवि कसरी भएँ?’
यो सामान्य घटना होइन।
1986 देखि जोर पक्रिएको छुट्टै राज्यको आन्दोलन भारतमा भारतीय नेपाली भाषीहरूको पहिचान, राजनैतिक, सांस्कृतिक, साहित्यिक, अर्थनैतिक सुरक्षा, केन्द्रिय शासनप्रणालीमा उनीहरूको सहभागी अवसरको सवाल थियो। संसदमा यो मुद्दालाई लिएर शुन्यकालमा नै सही बेला बेला आवाज उठ्छ। भाजपाका सांसद जसवन्त सिंहले संसदमा कुरा उठाउँदा जे भनेका थिए, त्यसको आशय यस्तो थियो, बङ्गालमा गोर्खाहरू अर्थनैतिकरूपले दबिएका छन्, बङ्गालले उनीहरूले उठाएका सवालहरूलाई सम्बोधन गर्न सकेन। दार्जीलिङमा उनीहरूले पाउनुपर्ने हकदाबी अनुसारको विकास भइदिएको भए उनीहरूलाई छुट्टै राज्यको आन्दोलन गर्नु बाध्यता आइपर्ने थिएन।
यो आवाज उठाइको केन्द्रमा-पनि हामीप्रतिको दिल्लीको बुझाई छ। उनीहरू विकासको सवालबाट हाम्रो मुद्दालाई सम्बोधन गर्छन्। यद्धपि दार्जीलिङ आफै आर्थिक सम्भावनाहरूको केन्द्र हो। यसै कारण पश्चिम बङ्गालले दार्जीलिङ गुमाउन सक्दैन र मुद्दालाई बारम्बार दबाउने खेल गरिबस्छ।
सिंहले यसरी बोलेपछि जुन सम्झौता भयो, त्यो विमल गुरूङको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन हो। त्यसअघि सुबास घिसिङको दार्जीलिङ गोर्खा पार्वत्य परिषद थियो। दुवै केन्द्र र राज्यका विभिन्न विकास योजनाहरू कार्यान्वयन गर्ने विकास इकाई हो।
यस्तै इकाईहरूले मुल मुद्दा छोपिरहेको छ।
केन्द्र र राज्य सत्ताशक्तिले दार्जीलिङमा उठ्ने आवाज दबाउन गर्ने कुटनीति नबुझेर आन्दोलन स्थगनको निर्णयमा नेतृत्व पुग्ने गरेकाले भारतीय नेपाली भाषीहरूको आन्दोलन टाक्सिएर गइरहेको छ। यसो हुनुमा पहिचानको सवाललाई दार्जीलिङ जिल्लामा खुम्चाएर राख्नु र राजनैतिक केन्द्रमा गोर्खाहरूको सर्वभारतीय शक्ति निर्माण गरेर ‘बहस’-को वातावरण बनाउन नसक्नु पनि हो।
काफरे अमेरिका यस्तै मालिकहरूको विपक्षमा उभिएको डिस्कोर्ष हो, यसले शक्तिपिठमा आफ्नो शासन सत्ता ढल्ने कुराको जुन ‘डर’ हुन्छ, त्यही डरले उ आफ्नै हैकम कायम गरिरहन्छ, भन्ने कुराबारे काफरे अमेरिका बोल्छ।
म काठमाडौँ पनि गइरहन्छु। धेरैवटा मञ्चमा, बहसमा, मिडियामा सधैँ भन्दै आइरहेको छु- म नेपाली भाषामा बोल्छु, तर म भारतीय नागरिक हुँ।
भारतमा जुनजुन स्पष्टीकरण दिँदै हिँड्नुपर्छ, त्यही त्यही नेपालमा पनि दोहोऱ्याउनु पर्ने जुन परिस्थिति छ, त्यसले दार्जीलिङमा चलिरहेको राजनीतिबारे धेरै भन्छ। त्यसले हाम्रा सवालहरूबारे भन्छ।
नेपालको राजनीतिमा हामीलाई उस्तो चासो हुँदैन। यद्धपि नेपालका तराई क्षेत्रका केही सर्जकहरूसित कहिलेकाँही विमर्श चलिबस्छ। उनीहरूको कुरा सुन्दा हामीले भोगिरहेको सङ्कट, उनीहरूले पनि भोगिरहेका रहेछन्, लाग्छ। यसो त यस्तो भारत र नेपालमामात्र होइन, संसारका सबै देशमा भोगिने सङ्कट हुन्, उनीहरू जसरी आफ्नो पहिचानको लागि लडिरहेका छन्, हामीपनि उसरी नै लडिरहेका छौँ। यति हो, भूगोल, इतिहासका सन्दर्भहरू फरक हुन्छन्, तर भोगाईका पीडाका रङ एकै हुन्छ।
बेलाबेला भारतले नेपालको राजनीतिमा गरेको हस्तक्षेपको कुरा आउँछ, मलाई त नेपाल मात्र होइन, कुनै पनि देशमा यस्ताखाले हस्तक्षेप निन्दनीय लाग्छ। नेपाललाई आफ्नो निर्णय गर्ने अधिकार छ, त्यसमा भारतीय हस्तक्षेप निन्दनीय कुरा हो।
घरिघरि के पनि देख्छु भने, भारतभन्न साथ कति साथीहरू ‘धोती’ सित जोडेर तथानाम गाली गर्छन्, भारतीय देख्नसाथ झम्टिन्छन्। जसरी नेपाल केवल ‘टोपी’-मात्र होइन, उसरी नै ‘धोती’-मात्र होइन भारत। कुनै पनि सिमान्तकृतले केन्द्रसित लड्ने विचारको विम्बमा नेपालको तराई र हाम्रो सवाललाई हेर्दा हुन्छ।
मलाई यस्तो राजनीति, जसले कुनै पनि समुदाय, धर्म, संस्कृति, समाजलाई बुटले कुल्चन्छ, त्यो राजनीति होजस्तो लाग्दैन।
साहित्यमा लेखन सामग्रीका हिसाबले यि दुई स्थानका फरक र समानता चाहिँ के हो ?
यसै त लेखकसित सामाग्रीको सन्दर्भमा देशको कुनै माने हुँदैन। उसले कुनै पनि सामाग्री कुनै पनि देशबाट प्राप्त गर्नै सक्छन्। त्यो लेखकको लेखकीय बुझाई र चेतनाका फरकपनमा निर्भर हुने कुरा हो। म नेपालका कविहरूका कविता पढ्दा होस्, वा आख्यान, आखिर नेपाली समाजका, संस्कृति, राजनीतिका, चेतनाका, अन्तरविरोधहरू नै पढिरहेको हुन्छु। नेपालका सर्जकहरू राजनैतिकरूपले गम्भीर सवाल उठाइरहेको पाउँछु। उता साहित्यले राजनीति गरिरहेको देख्छु, यता चाँही साहित्यमा राजनीति मिसाउनु हुँदैन भनिरहेको लेखक समाज छ।
बेलाबेला भारतले नेपालको राजनीतिमा गरेको हस्तक्षेपको कुरा आउँछ, मलाई त नेपाल मात्र होइन, कुनै पनि देशमा यस्ताखाले हस्तक्षेप निन्दनीय लाग्छ। नेपाललाई आफ्नो निर्णय गर्ने अधिकार छ, त्यसमा भारतीय हस्तक्षेप निन्दनीय कुरा हो।
उनीहरूलाई राजनीति भनेको यता विमल गुरूङको पार्टी र उता बाबुरामको पार्टीजस्तो लाग्दो हो। पार्टी-कामलाई मात्र राजनीति मानेर लेखकीय चेतना संरक्षणमा लाग्नेहरू दुवैतिर होलान्।
तर साहित्यले राजनीति गर्छ। जसरी गिरिजा अधिकारीको ‘लाल झा’ले राजनीति गरिरहेछ, जसरी मनु मन्जिलको ‘दुश्मन’-ले पनि राजनीति गरिरहेछ।
सिर्जनाले चेतनाको स्तरमा पुऱ्याउने खलबलमा लेखकीय राजनीति हुन्छ। लेखनले गर्ने राजनीतिले मानिसको सोच्ने, हेर्ने, बुझ्ने संस्कृतिमा प्रभाव पार्छ।
म बगदादका कवि सिनान अन्तनुको ‘युद्ध’ पढौँ वा राजा पुनियानीको ‘कश्मीर’, श्याम साहको ‘अब्बा’ पढौँ वा नयनराज पाण्डेको ‘उल्लार’, म पाठकलाई कविता/आख्यानले भन्दिने कुरा भनेको उनीहरूको समाजका अन्तरविरोधहरू नै हुन्, जो पढेपछि उनीहरूको समाज, राजनीति, संस्कृति बुझ्न र त्यसमा धारणा बनाउन सहयोग गर्छ।
उदय प्रकाशको मोहन दास पढिरहेका हिन्दी पाठकले के ‘उलार’ नपढ्लान् त?
नेपाल र दार्जीलिङमा साहित्यमा ‘राजनीति नमिसाउँ’ भन्नेहरूले पनि काम गरिरहेकै छन्, उनीहरूको यो खाले राजनीतिबाट लाभ कसलाई भइरहेको छ? प्रश्न पनि दुवैतिर उठिरहेका छन्। भौगोलिक, ऐतिहासिक र सांस्कृतिक कतिपक्ष फरक रहेकोले यताका लेखनले बोकेको संसार नेपाललाई मनपर्दो हो, नेपालका यतालाई।
दार्जीलिङको नेपाली भाषी समाजमा ब्रिटिश उपनिवेशले छोडेको एकप्रकारको सम्भ्रान्त संस्कृतिको मिश्रण छ, त्यसमा पनि पश्चिम बङ्गालको एउटा जिल्ला भएकोले हकदाबी, जातिक, सांस्कृतिक, प्रशासनिक अवसर, सम्बोधन, र स्वायत्ताका बाँडफाँडको सवालमा पछौटे। यसकारण यहाँको सामाजिकताको निर्माणमा सत्ताखेलले तयार पारेको मनोविज्ञानको ठूलो योगदान छ। यस्तोबिच जुन जुन आदर्शहरूसित लेखकीय काम चलिरहेको छ, यसैभित्र यताका लेखनको विविधता छुपेको छ।
नपालतिर पनि उस्तै होला भन्ठान्छु।
कविता वा साहित्यका अन्य विधामा लेख्नै नरुचाउने मान्छेलाई लेख्न उत्प्रेरित गर्नु पर्यो भने मनोज बोगटीले कसरी कन्भिन्स गर्न सक्छ ?
लेख्नै नरुचाउनेहरूसित मनोज बोगटीको कुनै रुची छैन। लेख्न रुचाउनेहरूलाई चाँही उसले समय, समाज र किताब पढ् भनि बस्छ। हेमिङ्वेले भनेको-‘घाउबिना, घाइते नभई कोही लेखक हुन सक्दैनन्,’-नै म होदोऱ्याइदिन्छु। घाउ र घाइते-को अर्थलाई नबुझ्नेहरूले नलेखुन्।
एउटा भोको मान्छेलाई कविता वा गीत सुनाएर वा लेखाएर सन्तुष्ट पार्न सकिन्छ ?
सकिन्न। तर कविता र गीत-ले तिमीलाई कसरी, कसले, कहाँ, किन भोको पाऱ्यो, भन्नेबारे भने बताइदिनुपर्छ। त्यसरी बताइदियो भने उसले भोकै सुनेको कवितालाई भोको पार्नेहरूको विरुद्ध बोल्ने विचारआदर्श, चेतना बनाउन सक्छन्।
राजनीतिक दलको कार्यकर्ताले बोक्ने झण्डा र साहित्यले बोक्ने झण्डामा के फरक छ ?
राजनैतिक दलको झण्डा र साहित्यले बोक्ने झण्डा अर्थात राजनीति नितान्तै फरक कुरा हो। अघि पनि मैले यो भनिसकेको छु। दलको झण्डा शासन प्रणालीमा सहभागिता र त्यहाँका विचलनहरूको विमर्शपछि त्यसको समाधान ताकेर गरिने काम हो, साहित्यको राजनीति मानिसको संवेदन र चेतना-निर्माण गर्नेतिर उन्मुख हुन्छ।
राजनीति बुझ्नेले यतिमा नै कुरा बुझ्छ। दलको झण्डालाई मात्र राजनीति बुझ्नेले केही पनि बुझ्दैन।
मनोज बोगटीको काफरे अमेरिका, पसिनाको छाला, घाउका रङहरू र इन्द्रबहादुर राइको रातभरि हुरी चल्यो आख्यानले बोक्ने झण्डाको भिन्नता के हो ?
रातभरि हुरी चल्यो-ले दार्जीलिङको सामान्य कृषकको जीवनबारे बोल्छ। मलाई यो कथाले हाम्रो ‘मास’/ समाज (किनभने दार्जीलिङमा चिया, सिन्कोना श्रमिक र किसानहरूको जनसंख्या धेर छ) बारे बोल्छ, लागेको हो। सामान्य कृषक परिवारले केवल एउटा हुरी आउँदा मात्र गर्नुपर्ने सङ्घर्षको फेहरिस्त छ, त्यहाँ। यो ‘हुरी’- सत्ताकोरूपमा अहिलेसम्म पनि चिया श्रमिक, किसानहरूको झोपडी ताकेर चलिबस्छ। तरै पनि त्योसित लड्ने मनोबल श्रमिकहरूले मारेको छैन। मलाई लाग्छ, इन्द्रबहादुर राईका कथाहरूमध्ये यो मास्टरपिस कथा हो। यस कारण कि यसले हाम्रो समाजबारे बोलिदिन्छ। हाम्रा सङ्घर्षबारे बोलिदिन्छ।
कालेकी आमाहरू अझ पनि हुरीसित लड्न तयार छन्। अझ पनि रातभरि हुरी चलिरहेकै छ। यो हुरीको मेटाफोरले धेरै अर्थ राख्छ। वास्तवमा काफरे अमेरिका, पसिनाको छाला, घाउका रङहरूले र यो कथाले बोकेको झण्डा एकै हो। सबैले शक्तिपिठ अथवा ‘हुरी’-अथवा मालिकमाथि आलोचकीय धारणा राख्छ।
अहिले दार्जीलिङमा धेरैवटा चियाबारी बन्द छ, कतिवटा अचल छ। बन्द पनि होइन, काम पनि छैन। श्रमिकहरूको विचल्नी छ। उनीहरूको जीवनमाथि चल्ने हुरीको विम्बमा इबराको कथाले ठूलो अर्थ राखेको छ।
मालिक, जो चियाबारीका श्रमिकहरूको ज्याला, उनीहरूले पाउनुपर्ने अधिकारका सवालहरूबाट पन्छिरहेका छन्, उनीहरू न त बगान श्रमिकको हातमा सुम्पिन चाहन्छन् न त आफै सन्चालन गर्न चाहन्छन्। दार्जीलिङ चियाको विश्वमूल्य जे हो, त्यसको कति अंश श्रमिकले पाइरहेको छ?
मालिकहरूले बगानलाई मुनाफा कमाउने दोकान बनाएर श्रमिकहरूमाथि जुन ‘ज्यादती’ गरिरहेका छन्, इबराको ‘हुरी’ त्यही अर्थमा खुल्छ।
काफरे अमेरिका यस्तै मालिकहरूको विपक्षमा उभिएको डिस्कोर्ष हो, यसले शक्तिपिठमा आफ्नो शासन सत्ता ढल्ने कुराको जुन ‘डर’ हुन्छ, त्यही डरले उ आफ्नै हैकम कायम गरिरहन्छ, भन्ने कुराबारे काफरे अमेरिका बोल्छ। पसिनाको छाला-ले भारतीय किसानहरूको सङ्घर्षको कथा भन्छ, घाउका रङहरूले दार्जीलिङका चलिरहेको पहिचानको आन्दोलनको स्केच उतार्छ। काफरे अमेरिका, पसिनाको छाला, घाउका रङहरू र रातभरि हुरी चल्यो / इबरा र मनोज बोगटी काँधमा काँध मिलाइकन एउटै झण्डा समातेर थिचिएका मानिसहरूबारे बोलिरहेको छ/बोलिरहेका छन्।
तर इबराका अरू कतिपय कथाले भने रातभरि हुरी चल्ने समाजको भुइँ छोडेको पनि छ। जसको आलोचना पनि हामी गरिरहन्छौँ।
कुनै कवि वा साहित्यकारको कविता कुनै दलको निर्वाचनको घोषणापत्र हुन सक्छ ?
साहित्यले राजनीतिलाई डोहोऱ्याएको समाजमा, कविले कल्पना गरेको शासनप्रणाली, समाज, देश, विचार, आदर्श, मनोविज्ञान निर्माणमा दलहरूलाई ठूलो सहयोग गर्छ। त्यतिखेर कविताले देखेको सपना सारा मानिसका सपना हुन्छ। यतिखेर त कुनै दलको निर्वाचनमा कुनै पनि कविता घोषणा पत्र हुनै पनि सक्ला। तर राजनीतिले साहित्यलाई डोहोऱ्याएको समाजमा, कुनै पनि कविता कुनै दलको निर्वाचनको घोषणापत्र भइदियो भने त्यही घोषणा कविता र कविको सपना मार्ने हतियार बन्ने सम्भावना रहन्छ।
