हेटौंडाको सडक विस्तार : प्रतिपक्षी काँग्रेस र सत्तापक्ष नेकपाको एउटै धारणा
मकवानपुर : हेटौंडाको सडक १६ मिटरमात्रै फराकिलो बनाउने गरी प्रदेश सरकारले केन्द्र सरकारसमक्ष सिफारिस गरेपछि जनस्तरमा २५ मिटरनै फराकिलो पार्नुपर्ने आवाज उठेको छ ।
तर, ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने यो कदम स्वागतयोग्य रहेको बताएका छन् ।
१६ मिटरमात्रै फराकिलो हुँदा यसले हेटौंडाको सडक चौडा पनि हुने र व्यक्तिको सम्पत्ति पनि कम क्षति हुने भएकाले यसलाई राम्रो मान्नुपर्छ, उनले तु खबरसँग भने । सरकारले तत्काल बाइपास सडक भने निर्माण गर्नुपर्ने र ठूला सवारीसाधन बाइपासबाट पठाउनुपर्नेछ, उनले भने ।
आज हेटौंडामा रेडियो थाहा सञ्चारले आयोजना गरेको एक कार्यक्रममा ३ नम्बर प्रदेशका तत्कालिन नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले पनि १६ मिटर विस्तार गर्दा त्यसले सबैलाई सहज हुने भएकै कारण सरकारले यस्तो निर्णय गरेको बताएका छन् ।
अरु प्राय एजेण्डामा हानाहान समेत गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस र सत्तापक्ष नेकपा यो एजेण्डामा भने एउटै स्वरमा बोलिरहेको छ । तर, हेटौंडामा १६ मिटरमात्रै सडक बिस्तार आफैमा समस्यामा छ । ऐनमा स्पष्ट २५ मिटर उल्लेख भएका कारण १६ मिटरमात्रै भत्काउन ऐन संसोधन हुनुपर्दछ ।
हेरौँ, प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलको जोडबलले हेटौंडा १६ मिटरमात्रै बिस्तार हुन्छ कि ऐन अनुसार, २५÷२५ मिटरनै भत्काउनु पर्छ ।
