मलाई विकास विरोधी भनेँ, पहिला मेरै घर भत्काउँछु – मुख्यमन्त्री पौडेल

२०७५ फाल्गुन ७,मंगलवार १३:३६

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हेटौंडाको सडक २५ मिटर भत्काउन नदिएका कारण विकास बिरोधीको आरोप लगाइने गरेको बताएका छन् ।

आज हेटौंडामा रेडियो थाहा संचारको ११ वार्षिक उत्सवको उद्घाटनपछि मन्तब्य राख्ने क्रममा मुख्यमन्त्री पौडेलले यसो भनेका हुन् । हेटौंडामा १६ मिटर सडक विस्तार गर्दा राम्रो हुने धारणा राख्दै उनले २५ मिटर फराकिलो बनाउने रटान गरिराख्नु आवश्यक नभएको बताए । हामीले १६ मिटर विस्तारको लागि केन्द्र सरकारमा सिफारिस गरेका छौं, सडक ऐन शंसोधन गरि कार्यान्वयनमा आउन समय लाग्दा, तर यो राम्रो निर्णय हो, उनले भने । उनले बस्तीको बीचबाट दुनियाँमा कहिँ पनि राजमार्ग नहुने स्मरण गराए ।

डोरमणि पौडेलको घर भत्किने भएकाले सडक फराकिलो पार्न नदिएको आरोप लाग्ने गरेको भन्दै उनले यसमा सत्यता नभएको समेत बताए । निर्णय हुने बित्तिकै पहिले आफैले आफ्नो घर भत्काउने समेत उनले सुनाए ।

मिडियाको कार्यशैलीप्रति आक्रमक :

मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले केही पनि काम गर्न सकेन भनी हल्ला बढी भएको बताए । सरकारले गरेका राम्रा कामको चाहिँ कतै चर्चै नहुने भन्दै मिडियाले पनि सरकारले कामै नगरेको भनी समाचार सार्वजनिक गरिरहेको उनको भनाइ थियो ।

अब राजधानी टुंगो लाग्छ

मुख्यमन्त्री पौडेलले अब राजधानी पनि चाडै टुंगो लाग्ने बताए । मैले उही बेला राजधानीको बिषय टुंग्याएको भए यो यहाँ नरहने स्थिति थियो । तर, विस्तार अब राजधानी स्थायित्व हुने भन्दै उनले घुमाउरो पारामा राजधानी हेटौंडै कायमा हुने खुलासा गरे ।

सरकारले कामै गरेन, राजधानी टुंगो लगाउन सकेन भने तर मैले नै यसमा हतार नगरेको हो, उनले मन्तब्यका क्रममा भने ।

उतिबेला सडक फराकिलो बनाउन मैले नै रोकेको हो

मुख्यमन्त्री पौडेलले त्यतिबेला हेटौंडा फराकिलो पार्ने काम आफ्नै पहलमा रोकेको बताए । केपी शर्मा र प्रचण्डलाई आग्रह गरेर भैरहेको काम मैले नै रोकेको हो, उनले भने । उनका अनुसार, प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड पनि १६ मिटरको पक्षमा छन् ।