नेपाल-भारतबीच २४ बुँदे सहमति, के-के कुरा समेटिए ?
भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। नेपालको विकास, पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रको विस्तारका लागि भारतले उक्त सहायता उपलब्ध गराउने सहमति जनाएको हो।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा यस्तो सहमति भएको हो। नेपाल र भारतबीच भएको संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले ५ हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार ४ सय करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ। अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने ऋण सहायता ऊर्जा क्षेत्रका परियोजनामा परिचालन गरिनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले भने रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्।
भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्रसमेत अवलम्बन गरेका छन्। उक्त दृष्टिकोणपत्रले दुई देशबीच आर्थिक तथा विकास साझेदारी, यातायात तथा सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने मार्गचित्र तय गरेको छ। जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, नयाँ व्यवसाय, अङ्कीय सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा समेत सहकार्य अघि बढाउने सहमति भएको छ।
दुई देशबीच हवाई सम्पर्क विस्तार गर्ने विषयमा पनि सहमति जुटेको छ। हाल सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाइने भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यविधि टुङ्गो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित काण्डला बन्दरगाहमा नयाँ पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत पहुँच उपलब्ध गराइने भएको छ।
रेल तथा सडक पूर्वाधार विस्तारका विषयमा पनि महत्त्वपूर्ण सहमति भएको छ। भारतको अयोध्या र नेपालको जनकपुरबीच सरयू–कमला रेल सेवा उद्घाटन गरिएको छ। यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै दुई देशबीचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको स्थलगत सर्वेक्षण अन्तिम रूप दिइएको र नेपालमा पूर्व–पश्चिम रेलमार्ग निर्माणमा भारतले सहकार्य गर्ने सहमति भएको छ।
यसैगरी, बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन जाँच चौकीको काममा भएको प्रगतिलाई दुवै पक्षले स्वागत गरेका छन्। भारतको धार्चुला र नेपालको दार्चुलाबीच नयाँ मोटर चल्ने पुलसमेत उद्घाटन गरिएको छ। यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
ऊर्जा तथा जलस्रोतको क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ। दुई प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन्। भारतीय कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र टुङ्ग्याएर कार्यान्वयन अघि बढाउने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययनलाई तीव्रता दिने सहमति पनि भएको छ।
नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विस्तारका लागि मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ। नेपालमा झापास्थित पेट्रोलियम भण्डारण केन्द्र निर्माणको शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरु गर्ने विषयमा जोड दिइएको छ। दुवै देशबीच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिने भएको छ।
शिक्षा, स्वास्थ्य, प्रविधि तथा प्रशासनिक क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति भएको छ। भारतले नेपालमा भारतीय प्रविधि संस्थानको शाखा स्थापना गर्ने भएको छ। यसले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, प्रविधि, नयाँ व्यवसाय, अङ्कीय सेवा तथा वित्तीय सम्पर्कका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको छ।
भ्रमणका क्रममा दुवै देशबीच न्यायिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य, पशुपालन तथा मत्स्य विकासलगायत आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्दै उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले उक्त निमन्त्रणा स्वीकार गरेका छन्। उनको नेपाल भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
