यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

तु खबर संवाददाता
२०८३ आश्विन २३, शुक्रबार १८:१९

काठमाडौँ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले दिउँसो आयोजित पत्रकारमार्फत बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।

सार्वजनिक निर्णयहरू अनुसार सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ।

यसैगरी, जापानको आइची नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय समेत गरिएको छ।

बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह-न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।