बीमा रकम अपचलन र सम्पत्ति शुद्धीकरणमा भट्टसमेतका विरुद्ध अर्को मुद्दा

तु खबर संवाददाता
२०८३ आश्विन २२, बिहीबार १९:४५

हिमालयन रि–इन्स्योरेन्सको रकम योजनाबद्ध रूपमा अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा व्यापारी दीपक भट्ट, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा र नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसहित उच्च अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणको संयुक्त अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्र दायर गरिएको हो । अभियुक्तहरूमाथि बिमा कम्पनीको कोष गैरकानुनी रूपमा हिनामिना गरेको, झुटा विवरण र कागजातका आधारमा रकम निकासा गरेको तथा अपराधबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट वैध देखाउने प्रयास गरेको आरोप लगाइएको छ ।

अभियोगपत्रअनुसार यो प्रकरणको सुरुवात २०७८ फागुन १८ गते अञ्जना नेपाल र मृदुला सरियाको नाममा ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रा.लि.’ दर्ता गरेसँगै भएको थियो । अनुसन्धानकर्ताहरूले उक्त कम्पनीको वास्तविक नियन्त्रण भने व्यापारी दीपक भट्टसँग रहेको दाबी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले पदीय अधिकारको दुरुपयोग गर्दै कानुनी मापदण्ड पूरा नगरेको एलियन्टलाई पुनर्बिमा दलालको इजाजत दिएको अभियोगपत्रमा उल्लेख छ । त्यसपछि एलियन्टलाई हिमालयन रि–इन्स्योरेन्सबाट प्राविधिक तथा लजिस्टिक सहयोग र ब्रोकरेज खर्चका नाममा २०८० असारदेखि कात्तिकसम्म पाँच पटक गरी २८ करोड रुपैयाँ पेस्की दिइएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ ।

तर, उक्त रकम निकासा गर्न कुनै ठोस काम, सम्झौता वा सेवा प्रदान भएको प्रमाण नरहेको सरकारी पक्षको दाबी छ । एलियन्टले विभिन्न जीवन बिमा कम्पनीबाट व्यवसाय ल्याइदिएको भन्दै २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा ब्रोकरेज खर्चका रूपमा दाबी गरेको थियो ।

अनुसन्धानका क्रममा सिटिजन लाइफलगायतका जीवन बिमा कम्पनीहरूले एलियन्टसँग कुनै सम्झौता नगरेको र पुनर्बिमाका लागि ब्रोकरको आवश्यकता नै नपर्ने बयान दिएपछि कारोबारको वास्तविकता बाहिर आएको अभियोगपत्रमा उल्लेख छ ।

सरकारी अनुसन्धानले एलियन्टको नाममा हिमालयन रिबाट निकालिएको रकम अन्ततः दीपक भट्टको नियन्त्रणमा पुगेको निष्कर्ष निकालेको छ । भट्टले आफ्नी सासू अञ्जना नेपाल र पत्नी आयुष्मा नेपाल भट्टलाई कम्पनीको संरचनामा अघि सारेर रकम निकाल्ने व्यवस्था मिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।

हिमालयन रि–इन्स्योरेन्सबाट ब्रोकर कमिसनका नाममा निकालिएको रकममध्ये २१ करोड १५ लाख रुपैयाँ व्यक्तिगत लाभका रूपमा प्रयोग गरिएको सरकारी पक्षको दाबी छ । उक्त रकम सेयर तथा अन्य व्यवसायमा लगानी गरी स्रोत लुकाउने र वैध देखाउने प्रयास भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

यस प्रकरणमा एलियन्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधीर कुमार मल्लिक, साझेदार मृदुला सरिया र कम्पनी स्वयंलाई पनि प्रतिवादी बनाइएको छ । अञ्जना नेपाल र आयुष्मा नेपाल भट्टमाथि समेत मिलेमतोमा नक्कली बिल तथा विवरण तयार गरी रकम अपचलन गरेको आरोप लगाइएको छ ।

रकमबाट सिर्जित सम्पत्ति लुकाउन फक्स ट्राभल एण्ड टुर्सका सञ्चालक मनोज कुमार अग्रवालले समेत सहयोग गरेको अभियोगपत्रमा उल्लेख छ । अग्रवालको कम्पनीको नाममा २ करोड ४० लाख रुपैयाँ खर्चेर खरिद गरिएको बा १९ च ३४०६ नम्बरको मर्सिडिज–बेन्ज गाडी दीपक भट्टले प्रयोग गर्दै आएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ ।

उक्त गाडी भट्टको इन्फिनिटी होल्डिङ्सको कार्यालयबाट बरामद गरिएको थियो । गैरकानुनी स्रोतबाट आएको रकम प्रयोग गरी सम्पत्ति खरिद गर्ने र वास्तविक लाभग्राही लुकाउन सहयोग गरेको आरोपमा अग्रवाल र उनको कम्पनीलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ ।

अनुसन्धानले हिमालयन रि–इन्स्योरेन्सको तत्कालीन सञ्चालक समिति र उच्च व्यवस्थापनको भूमिकामाथि समेत प्रश्न उठाएको छ । फर्जी खर्चलाई बोर्ड बैठकबाट अनुमोदन गरी कम्पनीको वित्तीय विवरणमा समावेश गरेर रकम दुरुपयोगलाई संस्थागत रूपमा अघि बढाएको आरोप उनीहरूमाथि लगाइएको छ ।

तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालकहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाष कुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंसल गोयललाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूले हुँदै नभएको ब्रोकर खर्चलाई स्वीकृति दिएको र कम्पनीको कोष दुरुपयोगमा सहयोग गरेको सरकारी पक्षको दाबी छ ।

हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्ति, तत्कालीन सीईओ उपासना पौडेल र कार्यकारी निर्देशक मनिष कुमारमाथि पनि विनाआधार एलियन्टलाई ठूलो रकम पेस्की दिएको तथा पछि त्यसलाई फर्जी खर्चका रूपमा लेखांकन गरेको आरोप लगाइएको छ ।

सरकारी वकिलले दीपक भट्टविरुद्ध बिमा ऐन, २०७९ को दफा १४० (१) (छ) अन्तर्गत कम्पनीलाई हानि पुर्‍याएको कसुरमा २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ । सोही बराबरको रकम जफत गरी कानुनबमोजिम कैद सजाय गर्न माग गरिएको छ ।

त्यस्तै, व्यक्तिगत रूपमा लाभ लिएको २१ करोड १५ लाख रुपैयाँलाई सेयर तथा अन्य कारोबारमा लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा भट्टविरुद्ध छुट्टै बिगो कायम गरी हदैसम्मको सजाय माग गरिएको छ ।

सञ्चालक समिति तथा उच्च व्यवस्थापनका पदाधिकारीविरुद्ध पनि २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी जफत, कैद तथा जरिवानाको माग गरिएको छ । वित्तीय संस्थाका जिम्मेवार पदाधिकारीका रूपमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार थप सजाय हुनुपर्ने सरकारी पक्षको दाबी छ ।

नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि पुनर्बिमा दलालसम्बन्धी निर्देशिका, २०७८ विपरीत एलियन्टलाई इजाजत दिएको आरोप लगाइएको छ । नियामक निकायको प्रमुख पदमा रहेर आर्थिक अपराधमा सहयोग गरेको भन्दै उनीविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ ।

यता, फक्स ट्राभल एण्ड टुर्सका सञ्चालक मनोज कुमार अग्रवाललाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा अभियोजन गरिएको छ । उनको कम्पनीको नाममा खरिद गरिएको मर्सिडिज–बेन्जसमेत गैरकानुनी रकमबाट सिर्जित सम्पत्ति भएको दाबी गर्दै पूर्ण रूपमा जफत गर्न माग गरिएको छ ।

एलियन्ट इन्स्योरेन्सकी संस्थापक अञ्जना नेपाल, आयुष्मा नेपाल भट्ट र प्रमुख कार्यकारी अधिकृत सुधीर कुमार मल्लिकविरुद्ध २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी जफत तथा सजायको माग गरिएको छ ।

अर्की संस्थापक मृदुला सरियाले पछि रकम फिर्ता गरे पनि अपराधमा उनको संलग्नता रहेको भन्दै २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना र कैद सजाय माग गरिएको छ । कानुनी व्यक्ति अर्थात् एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रा.लि.लाई समेत २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गराउन माग गरिएको छ ।