नेपालको कूटनीतिक छवि उच्च बनायो : परराष्ट्रमन्त्री खनाल

तु खबर संवाददाता
२०८३ आश्विन १४, बुधबार १७:२९
फोटोः परराष्ट्रमन्त्रीको सचिवालय, नेपाल

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पारेका छन्। उनले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको ८१औँ महासभाले नेपालको कूटनीतिक छविलाई उच्च बनाउने काम गरेको र नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको स्पष्ट पारेका हुन् ।

महासभाको बैठकमा सहभागिता जनाएर बुधबार नेपाल फर्किएका परराष्ट्रमन्त्री खनालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, ‘संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गरेको सम्बोधन र मैले विभिन्न बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ भने अर्कोतर्फ नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको मैले पाएको छु।’

उनले विभिन्न ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ताहरूबाट ती मुलुकहरूसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा प्रगति भएको पनि बताए। आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउन स्पष्ट आधारहरू तय भएको आफूले विश्वास लिएको उनले बताए ।

परराष्ट्रमन्त्री खनालले जलवायु न्यायसहितका मुद्दाहरू नेपालले विश्वसामु बलियोसँग उठाएको बताए। भोटेकोशीको विनाशकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालले महासभाका दौरान आफ्नो धारणा स्पष्ट र दरिलो रूपमा राखेको थियो।

परराष्ट्रमन्त्री खनालले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्बोधनका क्रममा जलवायु परिवर्तन तथा यसले नेपाल र नेपालजस्ता प्रभावित मुलुकहरूलाई पारेको असरका बारेमा स्पष्टसँग राखेको बताए।

परराष्ट्रमन्त्री खनालले नेपालको अवस्था र जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रधानमन्त्रीज्यूले सम्बोधनका क्रममा र आफूले अन्य विभिन्न फोरमहरू र भेटवार्तामा स्पष्टसँग धारणा राखेको बताए।